१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरा–ढाका हवाइ उडानबारे बंगलादेशी प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच छलफल


0
Shares

पोखरा । पोखरा–ढाका सिधा हवाइ उडानबारे विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले छलफल गरेका छन् । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा सिधा उडानबारे छलफल भएको हो ।

कार्यक्रममा सहभागी विमान बंगलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएलगत्तै बंगलादेशको राजधानी ढाकासँग सिधा हवाइ उडान प्रभावकारी हुने बताउनुभयो । पोखराको मनोरम सुन्दरतामा बंगलादेशीहरू आकर्षित हुने उहाँको विश्वास छ ।

हाल ढाका–काठमाडौं दैनिक एक उडानमात्रै हुँदै आएको छ । ५ करोड जनसंख्या रहेको बंगलादेशका १० प्रतिशतमात्र पर्यटक नेपाल भित्राउन सकिए यहाँको पर्यटन प्रवद्र्धन हुन सक्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउनुभयो ।

विमान सञ्चालन गर्न नेपाल सरकारसँग आवश्यक पहल गरिदिने नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतिबद्धता जनाउनुभयो । पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले वर्षमा झण्डै ५० हजार हाराहारीमा बंगलादेशीहरू नेपाल आउने गरेकोमा २० हजार जति पोखरा घुम्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा छिटोभन्दा छिटो खोप उपलब्ध गराएर चलायनमान बनाउनुपर्नेमा जोड दिनुभयो । नाट्टाका पूर्व अध्यक्ष वासु त्रिपाठीले पछिल्लो समय बंगलादेशीको आकर्षण पोखरामा बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, नाट्टाका उपाध्यक्ष हरिराज अधिकारी, नाट्टाका सचिव संगीता पौडेल, टानका अध्यक्ष सुशीलराज पौडेल लगायतले आफ्ना धारणा राख्नुभएको थियो । छलफलमा बंगलादेशका ५ प्रतिनिधिको सहभागिता थियो ।
पोखरामा निर्माणाधिन विमानस्थल यसै वर्ष सकिने लक्ष्य रहेकोमा कोरोना प्रभावले १ वर्ष पछि धकेलिएको छ ।