
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई चारपटक प्रधानमन्त्री हुँदा भएका कमजोरीलाई सच्याउन आग्रह गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् लिङदेनले वर्तमान प्रधानमन्त्रीसँग चारपटक प्रधानमन्त्री भइसकेको अनुभव भएकाले, उक्त कार्यकालमा गरेका कमजोरीलाई सुधार गर्न आग्रह गर्नुभयो । उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका गलत कामहरूलाई सच्याउँदै, त्यस्ता गलत क्रियाकलापमा संलग्न नहुन सुझाव दिनुभयो ।
लिङ्देनले सरकारबाट जनताले धेरै अपेक्षा नगरेकाले साना–साना विषयमा ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले देश प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको बाटोमा नजाँदासम्म अस्थिरतामात्र आइराख्ने बताउनुभयो ।
यस्तै उहाँले प्रधानमन्त्री देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्ने कदमको प्रशंसा गर्नुभयो । साथै उहाँले नयाँ आएको सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गर्न पनि सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्