१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलाली र कञ्चनपुरकाे गर्मी भुलाउने डोटीको बुडर झरना


26
Shares

बिजय रोस्यारा
कैलाली । डोटीको जोरायल गाउँपालिका छतिवनस्थित बुडल झरनामा आजकल दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटक को घुइँचो लाग्न थालेको छ । धनगढी लगायत डोटी, डडेल्धुरा, बैतडी, कञ्चनपुरलगायत बाँके र बर्दियाबाट समेत मानिसहरू यो झरना पुग्ने गरेका छन् ।

तराइको उखरमाउलो गर्मी छल्न पहाड उक्लिनेहरू बुडरको यो झरना पुगेर मात्रै फर्किने गरेका छन् । कोरोनाको जोखिम घटेसँगै अहिले यो झरनामा रमाउन र अवलोकनका लागि पुग्ने पर्यटकको संख्या बढ्दै गएकाे स्थानीय रमेश भट्ट बताउनुहुन्छ ।

प्रचारप्रसारको अभावका कारण खासै चर्चामा आउन नसकेको बुडलको नाम अहिले सामाजिक सञ्जालबाट मानिसको मुखमुखमा पुगेको छ । नाम मात्रै सुनेको र झरनाको तस्वीर मात्रै देखेका सर्वसाधारण पनि अहिले यो झरनासम्म पुग्ने गरेका छन् ।

कैलालीको धनगढी, अत्तरिया र कञ्चनपुरबाट झण्डै तीन–चार घण्टाको सडक यात्रामा पुगिने बुडलमा प्रायः कैलाली र कञ्चनपुरका सर्वसाधरण बढी पुग्ने गरेका छन् । झरनाले पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेलेको उल्लेख गर्दै व्यवस्थापनमा सुधार गर्न सके ठाउँ नै पर्यटकीय हब बन्ने स्थानीय दिपक नेपालको भनाइ छ ।

गाउँपालिकाले छहरा क्षेत्रसम्म पुग्न कच्ची सडक निर्माण गरेको छ । यद्यपि त्यो सहज भने छनै । पालिकाभित्रका छहरा झरना लगायत अन्य पर्यटकीय स्थललाई व्यवस्थित गर्दै पर्यटक भित्र्याउन सडकसहित अन्य पूर्वाधार विकासका काम थालिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा बताउनुहुन्छ ।

बुडल झरनाले पर्यटन प्रवर्द्धनमा राम्रो भूमिका निभाए पनि भौतिक पुर्वाधार लगायतको विकासमा कमी हुँदा झरनाबाट लिनुपर्ने जति लाभ स्थानीय तहले लिन सकेको छैन । त्यसैले निजी क्षेत्रसँग सहकार्यमा झरनालाई व्यवस्थित बनाउन सके आर्थिक विकासमा पनि निकै टेवा पुग्ने थियो ।