१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पूर्व पदाधिकारीले नै पाएनन् क्रियाशील सदस्यता, कांग्रेसमा डनतन्त्र हावी भएको कार्यकर्ता गुनासो


0
Shares

रोमन आचार्य
काठमाडौं । एक समय नेपाली कांग्रेसमा रजगज गर्नु भएका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीले आफ्नो क्रियाशील सदस्यता नविकरण नभएको गुनासो गरिरहनुभएको छ ।

सर्लाहीमा क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै सांसद् अमरेश कुमार सिंहले प्रतिनिधि सभा सदस्य पदबाटै राजीनामा दिनुभएको छ भने पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवका छोरा डाक्टर चन्द्रमोहन यादव कांग्रेस केन्द्रीय कार्यालयमा धर्नामा हुनुहुन्छ । क्रियाशील सदस्यता वितरणमा देखिएको बेथिति नेताको स्वार्थ टकरावको झल्को हो ।

आजीवन चारतारे झण्डा र रुख चुनाव चिन्ह भनेर जीवनको उर्जाशील समय राजनीतिमा बिताएकाहरू पार्टीबाट रित्तो हात हुनुपर्ने अवस्था सिर्जना हुँदैछ । क्रियाशील सदस्यता वितरण आफूअनुकुल बनाउन सके महाधिवेशन जित्ने मात्र होइन नेतृत्व र पार्टी नै कब्जा गर्न सकिने दाउ नेतृत्वमा देखिन्छ । त्यसैको विरोधमा पूर्व सांसदहरूसमेत अनसन बस्नुपरेको छ ।

जिल्ला छानविन समितिले क्रियाशील सदस्यता माथि परेको उजुरीमा छानविन नगर्ने र केन्द्रीय छानविन समितिले समय छैन भनेर अध्ययन नै नगरिए सही निष्कर्षमा कसरी पुग्न नसकिने धर्नामा बसेको नेताहरू बताउँछन् । जीवनभर पार्टीमा लागेका नेता तथा कार्यकर्तालाई बाइपास गरेर पुँजीपतिको हातमा पार्टी बुझाए विद्रोह गर्ने उनीहरूको चेतावनी छ ।

ललितपुरमा रहेको कांग्रेस केन्द्रीय कार्यालय क्रियाशील सदस्यता पीडितहरूको न्याय माग्ने मञ्च बनेको छ । जहाँ काउन्टर दिन उनीहरूले धर्ना सुरु गरेका छन् । १० लाख क्रियाशील पुर्‍याउने अनि महाधिवेशन गराउने नाममा आन्तरिक लोकतन्त्र धरापमा पर्दा नेतृत्वले ध्यान दिन जरुरी ठानेको छैन । आजित भएर नेताहरू राजीनामा दिएर धर्नामा बस्ने वातावरण बनेको छ ।

क्रियाशील सदस्यता वितरणको नाममा पार्टीलाई ठेकेदार, दलाल, तस्कर, पुँजीपति र अपराधमा संलग्नहरूलाई बुझाउन नेतृत्व लागेको भर्खरै प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर धर्नामा बस्नुभएका कांग्रेस नेता अमरेशकुमार सिंह बताउनुहुन्छ । यसले पार्टीको अवस्थालाई झन् खस्काउने उहाँको भनाइ छ ।

सच्चा कांग्रेसीहरूमा सदस्यता बढाउने नाममा पार्टी अयोग्य र खराब चरित्रका मानिसको झुण्ड बन्ला कि भन्ने चिन्ता छ । पार्टीमा लोकतन्त्र हैन ‘डनतन्त्र’ हावी भएको आरोप लाग्न थालेको छ । क्रियाशील सदस्य बन्ने मापदण्ड विधानमा भए पनि सही ढङ्गले पालना गर्ने कोही पनि छैनन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद अब विधानको प्रस्तावनामा बाहेक कतै भेटिँदैन ।

पार्टी कब्जा गरेर शक्ति आर्जन गर्ने शोख नेतृत्वमा हावी हुँदा पार्टीभित्र विवाद देखिएको नेता गोविन्दराज जोशी बताउनुहुन्छ । गाउँबाट पार्टी कब्जा गर्दै केन्द्रमा कब्जा गर्ने र टिकट पैसामा बेच्ने काम भएको उहाँको आरोप छ । पार्टीको विधिअनुसार क्रियाशील सदस्यता नपुर्याएर १० लाख क्रियाशील सदस्यतामा मात्र ध्यान दिँदा विकृति बढेको उहाँको भनाइ छ ।

कांग्रेसमा क्रियाशील सदस्यता विवाद देखिएको यो पहिहलोपटक भने होइन । क्रियाशील सदस्यता वितरण आफ्ना आफन्त र नातागोतालाई गर्ने, बाँकी रहेको पैसामा बेच्ने र त्यहाँबाट पनि बाँकी रहेको मात्र कार्यकर्तालाई दिने गरेकाले १४औं महाधिवेशको सम्मुखमा लफडा देखिएको जोशीको आरोप छ ।

कांग्रेस त्यो पार्टी हो, जसका संस्थापक नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईले जीवनको उत्तरार्धमा पार्टी सदस्यता त्यागे । अहिले कांग्रेस जनताको भन्दा पनि सुकिला मुकिलाको पार्टीमा परिणत भएको गुनासो स्वयं कार्यकर्ताले गरेका छन् । जसको प्रतिविम्व क्रियाशील नविकरण र वितरणमा प्रष्ट देखिन्छ ।