२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


एमालेको घरझगडा : कोही लालगद्दार, कोही महाराजधिराज !


0
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शीर्ष नेताहरू मान, मर्यादा र अनुशासन नाघेर गालीगलौजमा उत्रिएका छन् । एउटा नेताले धारेहात लगाएर गाली गरेको चौबीस घण्टा नवित्दै अर्को नेतादेखि कार्यकर्तासम्म प्रतिवादमा उत्रने गरेका छन् ।

कुनै सैद्धान्तिक बहस पनि होइन । न देश विकासको एजेण्डा हो । न जनतासँग सरोकार राख्ने कुनै विषय नै हो । यतिबेला एमालेमा रामरमिता छ । माधव नेपाललाई लाल गद्दार घोषणा गर्नेदेखि ओलीलाई राजा भनेर व्यङ्ग्य गर्नेसम्मका नौटंकी पार्टीमा चलिरहेकै छ । यो अहिलेबाट शुरु भएको अध्याय होइन ।

१५ वर्ष शक्तिहीन भएर माधव नेपालको कार्यकर्ता बन्नुपरेको पीडा आफू शक्तिमा आरूढ भएपछि ओलीले पाई–पाई फच्याउन सुरु गर्नुभएको छ । यतिसम्म कि माधव नेपालले दिएको स्वास्थ्यलाभको कामनासमेत उहाँलाई बिझाएको थियो ।

कुनै समय यही पार्टीको नेतृत्वमा रहेका माले महासचिव सीपी मैनाली ओली र नेपालमा जनविरोधी पुँजीवाद हावी हुँदा पार्टी संकटको डिलमा पुगेको बताउनुहुन्छ । ‘हिजो नेपालले सकेको बेलामा ओलीलाई सिध्याउनै खोजेको हो र आज ओलीले सकेको बेलामा नेपाललाई पनि सिध्याउन खोजेको हो,’ उहाँ भन्नुहुन्छ, ‘यो अहिले भएको होइन, २०३९ कात्तिकदेखि एमालेमा त्यो प्रवृत्ति छ ।’

पदीय अन्तरसंघर्ष नै विवादको मूल जड हो भन्ने पार्टीभित्रै धेरैको ठम्याइ छ । नेता मैनाली त ओली र नेपाल कम्युनिष्ट नै नभएको जिकिर गर्नुहुन्छ । ‘यी दुवै कम्युनिष्ट नामधारी पुँजीवादीहरू हुन्,’ उहाँ अगाडि थप्नुहुन्छ, ‘कम्युनिष्टको सिद्धान्त, आदर्श र मान्यता यी दुइटैसँग छैन ।’

टुट, फुट, गुटको नमिठो श्रृंखलाबाट गुज्रिएको नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा एमाले विवादले राष्ट्रिय राजनीति नै प्रभावित भएको छ । आफ्नै परिवारको व्यवस्थापनमा चुकेका नेताहरू तीन करोड जनताको हितमा कसरी क्रियाशील हुन सक्लान ? अहिलेको यक्ष प्रश्न यही हो ।