
एजेन्सी । बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको लागि इटालियन क्लब युभेन्ट्ससँग खेल्ने भएको छ । यो खेल ८ अगस्टमा हुने छ । युभेन्ट्स सहमत भएसँगै लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्त पुनः हुने भएको हो ।
तर, मेस्सीले बार्सिलोनासँग सम्झौता नविकरण गरिसकेका छैनन् । बार्सिलोनाले यसअघि इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्ने तय भएको थियो । तर इंग्ल्यान्डमा क्वारेन्टिन नियम परिवर्तन भएसँगै सिटीले नखेल्ने भएपछि बार्सिलोनाले युभेन्ट्ससँग खेल्ने मनसाय बनाएको हो ।
बार्सिलोना र युभेन्टसले गत सिजनको च्याम्पियन्स लिगको समूह चरणको खेलमा प्रतिस्पर्धा गरेका थिए । बार्सिलोना र युभेन्टसले खेल्ने दिन नै बार्सिलोनाको महिला टोली र युभेन्ट्सको महिला टोलीबीच सोही कपको लागि प्रतिस्पर्धा हुनेछ । युभेन्ट्सले १६ वर्षपछि जोन ग्याम्पर कप खेल्न लागेको हो ।
युभेन्ट्सले पछिल्लोपटक २००५ मा खेलेको थियो । पहिलो खेलमा रोनाल्डोबिनाको युभेन्टस बार्सिलोनासँग २–० ले पराजित भएको थियो । त्यसमा मेस्सीले एक गोल गरेका थिए ।
रोनाल्डो मैदान फर्किएपछि दोस्रो खेलमा युभेन्ट्सले ३–० गोलको सहज जित निकाल्दा रोनाल्डोले दुई गोल गरेका थिए । क्याटलान क्लब बार्सिलोनाको यो वार्षिक कार्यक्रम हो । बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ । हालसम्म ५५ पटक यो कपको आयोजना हुँदा बार्सिलोनाले हालसम्म ४३ पटक यो उपाधि जितेको छ ।
प्रतिक्रिया दिनुहोस्