
केशव कोइराला
बर्दिया । बर्दिया राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा हात्ती आतंक रोकिएको छनै । हात्तीको झुण्डले घर भत्काउँदै अन्नपात नोक्सान गर्दा स्थानीय चिन्तित बनेका छन् । हात्तीले दुख दिन थालेपछि स्थानीय समसाँझै घरको ढोका लगाएर बस्न बाध्य छन् । आफूहरूलाई हात्तीले एकदमै दुःख दिने गरेको र दिनकै क्षति पुर्याउने गरेको गेरुवा सरखौलकी हिरादेवी थारुको दखेसो छ ।
हात्तीले अन्नपात नोक्सान गर्नुका साथै हात्ती आंतकले बाहिर निस्कन नसक्दा बिहान बेलुकीको छाक टार्नै धौ–धौ भएको गेरुवा–२ राजीपुरकी तुलसी अधिकारीको भनाइ छ । आफूहरूलाई हात्तीले दुःख दिने गरेको भए पनि स्थानीय सरकारले वास्ता नगरेको उहाँको गुनासो छ ।
आंतक रोक्नका लागि बनाइएको विद्युत् प्रवाह गर्ने तारमा समेत हात्तीले आक्रमण गरी क्षति पुर्याएको छ । त्यसमाथि वनमारा झारले सबैजसो तार पुरिएको छ । सरकारले करोडौ रुपैयाँ लगानी गरेर बनाएका सोलर इलेक्ट्रिक मेसिन र इलेक्ट्रिक फेन्सको सुरक्षा नहुँदा लगानी खेर गएको छ । निकुञ्ज संरक्षण अधिकृतलको झैँ आफूहरूलाई पनि सुरक्षा दिनुपर्ने स्थानीय फूलमाया थारुको माग छ ।
हात्तीबाट हुनसक्ने सम्भावित क्षति रोक्नका लागि बर्दिया राष्ट्रिय निकुन्जले हात्ती छेकवारका लागि बनाइएका सोलार इलेक्ट्रिक मेसिन र इलेक्ट्रिक फेन्सको मर्मत गरेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ बताउनुहुन्छ । निकुञ्जले सुरक्षा साइरन जोड्नुका साथै नेपाली सेनाको गस्ती टोली निरन्तर पठाएको उहाँको दावी छ ।
हात्ती छेकबारका नाममा करोडौं रुपैयाँ लगानी गरेर बनाएका संरचना अहिले भताभुङ्ग छन् । यहाँका स्थानीय सरकारको व्यवहारप्रति आजित भइसकेका छन् । हात्ती आतंक रोकथामका नाममा वर्षेनी गरिने लगानी बन्द गरी दीर्घकालिन योजना नबनाए स्थानीयले अझै कयौं वर्ष दुःख पाउने निश्चित छ । त्यसैले बेलैमा सरोकारवालाको ध्यान जानु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्