१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलाममा स्वास्थ्य मापदण्ड व्यापक उल्लंघन, बढ्न थाले कोरोना संक्रमित


0
Shares

प्रकाश नेपाल
इलाम । सक्रिय संक्रमितको सख्या ५ सयभन्दा बढी भएपछि स्थानीय प्रशासनले इलाममा निषेधाज्ञा जारी ग¥यो । तर, अहिले निषेधाज्ञा क्रमिक रूपमा खुकुलो भएसँगै कोरोना संक्रणण दर निरन्तर उकालो लाग्न थालेको छ । बजारमा मानिसको चहलपलह बढेसँगै संक्रमण पनि बढ्दै गएको हो ।

साउनको पहिलो हप्ताको दुई दिन सयभन्दा बढी संक्रमित एकैदिन थपिएका थिए भने मृत्युदर पनि बढ्दै गएको छ । यसले इलाममा संक्रमण पुनः भयावह हुँदै गएको देखिन्छ । निषेधाज्ञा खुकुलो भएपछि स्वास्थ्य मापदण्ड पनि खासै पालना भएको पाइँदैन । जसले गर्दा पाँचसय बढी सक्रिय संक्रमित रहेको जिल्लामा संक्रमितको संख्या ओरालो लाग्नुको सट्टा उकालो लागिरहेको इलामका कोभिड फोकल पर्शन बिमल बराल बताउनुहुन्छ ।

दैनिक रूपमा कारोना संक्रमित थपिँदा जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ८१ पुगेको छ । कोरोना संक्रमितहरूको संख्या थपिदै जाँदा इलाम अस्पतालमा बिरामीको चाप पनि उतिकै बढेको छ । यस्तै कोरोना परीक्षण गर्नेको संख्या पनि बढ्दै गएकाले किटको अभाव हुने सम्भावना रहेको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडा बताउनुहुन्छ ।

बजारमा किनमेलदेखि सरकारी कार्यालयको सेवा र अस्पतालजस्ता ठाउँमा समेत स्वास्थ्य मापदण्ड उल्लंघन भइरहेको छ । मास्क लगाउने मापदण्डलाई पालना गरे पनि अन्य मापदण्ड पालना गरेको पाइँदैन । मापदण्ड पालना नगर्दा कोरोन झन् भयावह बन्ने भन्दै चेनब्रेक गर्न पुनः एक साता निषेधाज्ञा लगाउनुपर्ने आवाज उठेको छ ।

इलामका नागरिकले स्वयं सचेत नबन्दा कोरोना संक्रमण बढ्दै गएको हो । प्रायः माक्सको प्रयोग गरेको पाइए पनि भौतिक दूरीलाई ध्यान दिइएको छैन । विशेषतः गाउँघरमा गरिएको लापरबाहीले गाउँको टोल नै संक्रमित भएर बस्नुपरेको छ । राजधानी वा शहरी क्षेत्रमा संक्रमितको संख्या तात्ने सरोकारवालाले गाउँमा लक्षण देखिएका बिरामीहरूको परीक्षणमा समेत ध्यान दिन सकेको छैन ।