
काठमाडौं । काठमाडौंको रत्नपार्क नपुग्ने को होला ? त्यहाँ बाटो काट्न बनाइएको सब वे भित्रको बजारबारे कति जानकार हुनुहुन्छ ? सर्वत्र महँगिएका बेला यहाँको सटर भाडा २५ सयदेखि ४ हजारसम्म मात्र छ ।
थोरै भाडा तिरे पुग्ने र व्यापार पनि हुने । घाम र पानीको डर पनि नहुने । यीनै विशेषता बोकेको यो रत्नपार्क स्थित भोटाहिटी अन्डरग्राउन्ड मार्केट हो । २० पसल रहेको यो अन्डरग्राउन्ड मार्केटमा कपडा जुत्तादेखि किताब र पोष्टरहरू समेत किन्न पाइन्छ । कोभिडका कारण सबैतिर प्रभाव परेसँगै अन्डरग्राउन्ड मार्केटमा पनि ग्राहकको संख्यामा कमी आएको छ ।
दोलखा घर भएकी राममाया श्रेष्ठले रत्नपार्कको भोटाहिटी अन्डरग्राउन्ड मार्केटमा पसल राखेको २२ वर्ष बित्यो । सुरु–सुरुमा अँध्यारो भन्दै कोही पनि नछिर्ने यो ठाउँ अहिले मूलबाटो जस्तै बनेको छ । मानिस हिँड्छन् र व्याापार पनि सन्तोषजनकै छ ।
काठमाडौं महानगरपालिकाले २०४० सालमा बाटो काट्न सहज होस भनेर निर्माण गरेको यो स्थानमा पहिले–पहिले मानिसले फोहोर गर्थे । तर, अहिले सुधारा आउँदा मानिसहरूको आवतजावत पनि बाक्लिएको छ ।
रामेछापका शम्भु श्रेष्ठ १५ वर्षयता यही स्थानमा पसल राखेर परिवार पाल्दै आउनुभएकाे छ । महानगरले नै सुरक्षाका लागि गेट समेत बनाइदिएकोले अन्डरग्राउन्डमा पसल राख्दा सहज भएको श्रेष्ठ बताउनुहुन्छ ।
व्यावसायिक गतिविधि पनि चल्ने, पैदलयात्रीका लागि सुरक्षित हुने भएकाले काठमाडौंका विभिन्न ठाउँमा यस्तै सब वे बनाउनु उपयोगी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्