
ध्रुबसागर शर्मा
म्याग्दी । हिमाली जिल्ला म्याग्दीको अत्यन्त दुर्गम मानिएको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्व जातका इटालियन स्याउका विरुवा लगाएर स्याउ खेती सुरु गरिएको छ ।
जिल्लामै पहिलो पटक इटालियन जातको स्याउको व्यावसायिक खेती गरिएको हो । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले गाउँपालिका र कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउखेती गरिएको हो ।
इटलीबाट उच्च घनत्व जातका स्याउका कलमी बिरुवा ल्याएर गुर्जामा खेती गरिएको धवलागिरि गाउँपालिका १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । ‘गुर्जामा म्याग्दी जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती भएको हो’, उहाँले भन्नुभयो, ‘१० रोपनी जग्गामा गत हिउँदमा रोपेको स्याउको बिरुवाले रोपेकै वर्षदेखि फल्न थालेकाले गुर्जामा सफल हुने देखिएको छ ।’
कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा २ सय ५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा ५ सय ९२ बिरुवा खरीद गरिएको थियो । गुर्जामा स्याउखेतीका लागि गतवर्ष कृषि ज्ञान केन्द्रले एक लाख ५० हजार रुपैयाँ र गाउँपालिकाले पाँच लाख रुपैयाँ विनियोजन गरेको थियो ।
गुर्जाको नाइलीबाङमा २६ किसानले दश रोपनी पाखोबारीमा स्याउका बिरुवा लगाएका छन् । गुर्जाको स्याउखेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार ७ सय मिटर छ । अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउखेती भित्र्याइएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।
छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउखेतीप्रति किसानको आकर्षण बढेको छ । किसानले परीक्षण उत्पादन सफल भए स्याउखेती विस्तार गर्ने योजनामा छन् । यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन ।
कृषि ज्ञान केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले गुर्जामा परीक्षणका लागि उच्च घनत्वको स्याउखेती गर्न इटलीबाट बिरुवा ल्याइएको बताउनुभयो । ‘पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छाडेपछि त्यसको साटो छिटोे फल्ने उच्च घनत्वको स्याउको विरुवा लगाउन थालिएको हो,’ उहाँले भन्नुभयो, ‘गुर्जामा उच्च घनत्वको स्याउखेती सफल भएमा खेर गइरहेको बाँझो जमिनलाई सदुपयोग गर्न र किसानको आम्दानी बढाउन सकिने सम्भावना छ ।’
गुर्जामा परीक्षण सफल भएमा उच्च लेकाली क्षेत्रहरूमा पनि यही प्रजातीको स्याउ खेती विस्तार गरिने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्