
खिलनाथ ताजपुरिया
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग यतिबेला सत्ताको राप र ताप दुवै छ । शेरबहादुर देउवा नेतृत्व सरकारको निर्माता मानिएका नेपालसँग सबैथोक भएपनि पार्टी छैन । घर नभएका नेता नेपालको आगामी यात्रा सजिलो छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिन विराएर नेपालको घर पुगे पनि दलको न्यानोबाट उहाँले बञ्चित हुनुपरेको हो । पार्टीको संस्थापन पक्षले कुलद्रोही टीमका रूपमा माधव नेपालको इतिहासलाई सीमित गरेको छ । एकातिर सत्ताको न्यानो, अर्कातिर पार्टीभित्र अन्तरकलह नेपालका लागि थाल खाउँ कि भात खाउँको अवस्था बनेको छ ।
दुईवटै रोज्ने सुविधा नेपाललाई छैन । एउटा रोज्दा राजनीति जोखिममा पर्ने खतरा छ । देउवा सरकार बचाउन गरिएको फ्लोर क्रसलाई अपवाद मान्ने हो भने नेपालको विगत कम जोखिम मोल्ने नेताका रूपमा चिनिन्छ । सहकर्मी सीपी मैनाली वरिष्ठ नेता नेपाल उपयोगको राजनीतिमा फसेको आक्षेप लगाउँछन् ।
‘माधव नेपालले मुतको न्यायोमा रमाउनुको औचित्य छैन,’ उहाँले भन्नुभयो, ‘अरुले धाप दिएर वा बोकेर उहाँको शक्ति बढ्दैन, उहाँ बलियो भाको होइन हात्तिपाइले लागेको मात्र हो ।’ विदेशी र विरोध दलको भरमा स्थायी विजयी हुन्छु भन्ठान्नु नेपालको भ्रम भएको उहाँको भनाइ छ ।
माधव नेपाल समयका पक्का हुनुहुन्छ । कुटिल षडयन्त्र जान्नुहुन्न । जीवन सादा छ । बैंक कर्मचारीबाट राजनीतिमा प्रवेश गरे पनि पार्टीको कुशल मेनेजर हुनबाट चुकेको आक्षेप उहाँमाथि छ । न पार्टी फोर्न सक्ने, न मिल्न सक्ने नेपालका लागि दुवै बाटा सुरुङ हुन् ।
देशैभरी पार्टी संयन्त्र र भौतिक संरचना पार्टी अध्यक्ष केपी ओलीको हातमा छ । ओली साम, दाम, दण्ड, भेदको राजनीतिमा पारङ्गत हुनुहुन्छ । यद्यपि त्यसको मुकाविला गर्ने सामथ्र्य नेपाल पक्षसँग कमजोर छ ।
देउवा सरकारमा पाइने केही थान मन्त्री र राजनीतिक नियुक्ति अवसरवादी कार्यकर्ताका लागि खुदो भए पनि नेता नेपालका लागि गुलियोमा लपेटिएको विष हो । देउवा–प्रचण्डसँगको समीकरणले सत्ताको क्षणिक राहत दिए पनि नेता नेपालको पार्टीभित्रको राजनीतिक उचाइलाई थप पुड्को बनाउने खतरा छ ।
महादेवले जस्तो हलाहल विष पिएर ओलीसँग सहयात्रा गर्ने या मसक्क पार्टी फुटाउने दुईवटा बाटा नेपालका लागि बाँकी छन् । प्रचण्डसँगको सहयात्रालाई लिएर आफ्नै समूहमा नेपालको आलोचना हुने गरेको छ । यस स्थितिमा कुरा सबैको सुन्ने निर्णय भने विवेकपूर्ण गर्ने उहाँका लागि उत्तम बाटो हो ।
प्रतिक्रिया दिनुहोस्