२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


माथिल्लो तामाकोसीको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन सुरु


0
Shares

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन थालिएको छ ।

असार २१ मा पहिलो युनिट सञ्चालन गर्दै उद्घाटन गरिएको सो आयोजनाबाट शुक्रबारदेखि तेस्रो युनिट सञ्चालन गरिएको आयोजनाले जनाएको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका छ वटा टर्वाइन जोडिएका छन् ।

पहिलो र दोस्रो युनिटको परीक्षण उत्पादन सफल भएपछि तेस्रो युनिट पनि सञ्चालनमा ल्याइएको जलविद्युत् आयोजनाले जनाएको छ ।

यससँगै ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन हुन थालेको छ ।

साउनभित्रै चौथो युनिट पनि सञ्चालन गर्ने र भदौभरमा बाँकी दुई युनिट पनि सञ्चालन गरी अयोजना पूर्ण क्षमतामा चलाउने आयोजनाले जनाएको छ ।

सबै परीक्षण सकेर पहिलो चार युनिटबाट यसै महिना ३ सय ४ मेगावाट विद्युतको व्यावसायिक उत्पादन हुने आयोजनाले जनाएको छ ।

बाँकी दुईसमेत गरी सबै युनिटबाट व्यावसायिक उत्पादन गर्न अर्को एक महिना लाग्नेछ ।यसअनुसार माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट असोजको मध्यदेखि पूर्ण क्षमतामा व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने योजना लिमिटेडको छ ।