
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालनका लागि सुझाव दिन भन्दै गठन गरिएको कार्यदलको बैठक आज अपराह्न ४ बजे बस्दैछ ।
बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्न लागेको हो । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा गठन भएको कार्यदलमा कांग्रेसबाट रमेश लेखक र मिनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट राजेन्द्र श्रेष्ठ सदस्य छन् ।
सरकार सञ्चालनका क्रममा सरकारका प्राथमिकताका क्षेत्रमा कार्यदलले सुझाव दिनेछ । न्यूनतम साझा कार्यक्रममा कोभिडलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
कोभिडको सम्भावित तेस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि सरकारी तयारीका सन्दर्भमा सुझाव कार्यदलले दिने भएको छ । ठूला आयोजनाको काम ढिलो हुनुका कारण र आयोजना सम्पन्न गर्न सरकारको पहलकदमीका लागि आवश्यक सुझाव दिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्