१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


ह्युमपाइपका लागि खनिएको खाल्डोमा परी दाङमा मोटरसाइकल चालकको मृत्यु


0
Shares

दाङ । दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि खनिएको खाल्डोमा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनाबाट अञ्दाजी ४०÷४५ वर्षीय पुरुषको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । मृतकको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

रा ६ प ७२५ नम्बरको मोटरसाइकल चालकको साथबाट तुलसीपुर उपमहानगरपालिका १२ टरिगाँउ ठेगाना भएका चुडामणी भण्डारी नामको ब्लुबुक भेटिएको हो । ब्लूबुक उनकै भए÷नभएको बारेमा पहिचान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

गएराति नै दुर्घटना भएको भए पनि मंगलबार बिहान मात्र उनको बारेमा थाहा भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । सोही ठाउँमा डाइभर्सन निर्माण भएको लामो समय भएको स्थानीय बताउँछन् ।

मुख्य सडकबीचमा ह्युमपाइपका लागि खाल्डो खनिएको र डाइभर्सन पनि उचित नभएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । सडक निर्माणको कामले पूर्णता नपाउँदा यहाँ दैनिक दुर्घटनाको जोखिम बढिरहेको छ ।