१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


असाेजमा तेस्राे लहर, खाेप भने चैतमा !

सहप्रवक्ता भन्छन्, ‘ल्याएपछि लगाउन समस्या हुँदैन’

0
Shares

प्रज्ञा तिमल्सीना
काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरमा आगामी असोजको मध्यमा सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान छ । तेस्रो लहर बालबालिकाका लागि सबैभन्दा बढी जोखिमयुक्त हुने विज्ञहरूले बताउँदै आएका छन् ।

दुर्भाग्य नै मान्नुपर्छ, सरकारले बालबालिकालाई उपयोगी हुने कोरोना भाइरस विरुद्धको फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाए पनि तेस्रो लहर सुरु हुँदासम्म १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाले खोप पाउने छैनन् ।

विश्व वैंकको ऋण सहायतामा सरकारले बालबालिकाका लागि उपयोगी फाइजरको खोप ल्याउन प्रयास नगरेको भने होइन । तर, उक्त खोप आगामी चैत महिनासम्म मात्र नेपालले पाउने सम्भावना छ । त्यतिबेलासम्ममा खोप आपूर्ति नहुने हुँदा बालबालिकाले असोज महिनासम्म खोप लगाउन नपाउने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी बताउनुहुन्छ ।

स्वास्थ्य मन्त्रालयले अमेरिकाको फाइजर एवं वायोटेक कम्पनीले बनाएको खोप ६ देखि ९ महिनामाभित्र ल्याउने गरी सम्झौता भएको जनाएको छ । फाइजरको खोप १२ वर्ष माथिका बालबालिकालाई लगाउन सकिने भएपछि सरकारले खोप खरिदका लागि पत्र पठाएको थियो ।

फाइजर कम्पनी पनि खोप दिन सकारात्मक देखिएको छ । डा. अधिकारी कोभ्याक्स कार्यक्रम र खरिद गरेर बालबालिकालाई उपयोगी फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको बताउनुहुन्छ । ‘मन्त्रालय खोप लगाउनका लागि तयारी अवस्थामा छ,’ उहाँ भन्नुहुन्छ, ‘१८ वर्षभन्दा माथिका सर्वसाधारणलाई नै खोप लगाउन बाँकी भएकाले त्यसका लागि केही समय लाग्छ ।’

१२ देखि १८ वर्ष उमेर समूहका ४९ लाख बालबालिकालाई लगाउन सकिने खोप आगामी चैत्र देखि वैशाख महिनासम्ममा ल्याइसक्ने मन्त्रालयले भनाइ छ । भण्डारणका लागि माइनस ६० देखि ८० डिग्री सेन्टिग्रेड तापक्रममा आवश्यक पर्ने यो खोप ३५ दिन सम्म २ देखि ८ डिग्री सेल्सियसमा राख्न सकिन्छ ।

खोप ल्याएर लगाउनमा समस्या नहुने सह–प्रवक्ता अधिकारी बताउनुहुन्छ । दुई डोज अनिवार्य मानिएकाले पहिलो डोज लगाएको २१ दिनपछि दोस्रो डोज खोप लगाउनुपर्ने हुन्छ ।