१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चार वर्षअघि ठेक्का भएको परासीको सडक अझै अलपत्र

स्थानीयलाई हिलो र धुँलोको सास्ती

0
Shares

हरि शर्मा
नवलपरासी । स्थानीय सरकारको ४ वर्ष बितिसक्दा पनि पश्चिम नवलपरासीको परासीको सडक अझै बन्न सकेको छैन । झरहीखोलादेखि बुद्धचोकसम्मको सडक बन्न नसक्दा स्थानीयहरु धुँलो र हिलाम्मेबाट सास्ती खेप्नु परेको हो ।

संघीय सरकारले ४ वर्षअघि ठेक्का आव्हान गरेको परासी सदरमुकामको यो सडक अहिलेसम्म अलपत्र छ । ठेक्का आव्हान भइसकेकाले नगरपालिकाले समेत बजेट छुट्टाउन नसक्ने जनाएपछि स्थानीयहरु धुँलो र हिलोले सास्ती व्यहोर्नु परेको छ ।

सडक बनाउनका लागि वडा कार्यालयदेखि नगरपालिकासम्म पुग्दासमेत सुनुवाई नभएको भन्दै स्थानीयहरु जनप्रतिनिधिहरुसँग आक्रोशित छन् । सडक नबन्दा सदरमुकाम कुरुप हुँदै गएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताको भनाइ छ ।

ठेक्का रद्ध भए तत्काल नगरपालिकाले आफ्नै लगानीमा काम सुरु गर्ने बताएको छ । लामो समयसम्म बितिसक्दा पनि काम नगर्ने निर्माण कम्पनीलाई सरकारले कालो सूचीमा राखेर कारबाही गर्नुपर्ने नगर प्रमुख गुप्ताको माग छ ।

भैरहवा–भूमही सडक खण्डको वाइपास रोडदेखि सदरमुकाम जोड्ने यो प्रमुख सडक हो । नगरपालिकासँग जोडिने यो सडकमा सवारी चाप अत्याधिक हुने गरेको छ । चापका कारण अत्याधिक धुँलो भएपछि सवारीसाधनहरु दिउँसै लाइट बालेर हिड्नु पर्ने अवस्था छ । भने बाटोको छेउँछाउँमा व्यवसाय गर्नेहरुलाई धुँलोका कारण चिन्नै नसक्ने अवस्थामा पुग्ने गरेका छन् ।

सडक निर्माणका लागि आव २०७३÷०७४ मा सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले ठेक्का आव्हान गरेको थियो । जसअनुसार निर्माण कार्यको जिम्मेवारी पाएको गौरी पार्वती निर्माण सेवा सामाखुसी काठमाण्डौंले अहिलेसम्म सडक बनाउने कार्य सुरुवात समेत गरेको छैन् ।

२ पटकसम्म म्याद थप गर्दासमेत सडक नबनेपछि असार १५ गते ठेक्का तोड्नका लागि सूचना निकालेको आयोजना कार्यालयका प्रमुख इन्जिनियर प्रकाश अर्यालले जनाकारी दिनुभएको छ ।

झरहीखोलादेखि बुद्धचोक हुँदै मञ्जरिया जोड्ने सडक र पोखरापालीसम्मको सडक, नाली र फुटपाथ निर्माणका लागि निर्माण कम्पनीले १६ करोड ९४ लाखमा ठेक्का लिएको हो ।

सडक निर्माणमा ढिलाई हुँदा यहाँका स्थानीयले वर्षौदेखि कठिनाई सहँदै आउनु परेको छ । अब छिट्टै सडक निर्माण नगरे अझै जोखिम हुने देखिन्छ ।