१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपतिको अफर त्यागेका ठाकुरको भविष्य : नयाँ दल कि विश्राम ?


13
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । महन्थ ठाकुर कुनै समय तराई राजनीतिको भीष्म पितामह मानिन्थे ।

कांग्रेसका पुराना नेता दुर्गानन्द झा, महेन्द्रनारायण निधि, शेख इद्रिसले खनेको बाटोमा ठाकुरले आफ्नो गर्विलो इतिहास बनाउनुभएको थियो । कांग्रेससँग असहमति राखेर मधेश केन्द्रित दलको मसिहा यी गान्धीवादी नेता जीवनको उत्तरार्द्धमा पार्टीविहीन बन्नुभएको छ ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले एउटा पुस्तक लेख्नुभएको छ । पुस्तकको नाम हो, ‘१२ औं नम्बरको खेलाडी’। फुटबल खेलको १२ नम्बरको खेलाडीजस्तै नेपाली राजनीतिका हस्ती ठाकुरलाई समयले त्यही कोटीमा पुर्‍याएको छ ।

राजनीतिमा लागेपछि उहाँले घर बिर्सनुभयो । जीवनको उर्जाशील समय जेल र प्रवासमा बित्यो । ३३ वर्षअघि पत्नी र केही वर्षअघि छोराले सवारी दुर्घटनामा ज्यान गुमाएपछि पारिवारिक रूपमा पनि उहाँ कमजोर बन्दै जानुभयो । काठमाडौंमा रहँदा छोरीको आश्रयमा बस्नुहुन्छ ।

नेता ठाकुर जति भद्र हुनुहुन्छ, उहाँमा क्रान्ति र विद्रोहको चेत उतिकै छ । सत्ता र शक्तिका लागि जुनसुकै अवतार धारण गर्ने मधेशी नेताहरूको आमचरित्र विपरीत उहाँमा शक्ति र सत्ताको मोह छैन ।

कांग्रेसको केन्द्रीय कोषाध्यक्ष, मन्त्री र राष्ट्रपतिको निम्तो छोडेर मधेश केन्द्रित राजनीतिमा सक्रिय ७८ वर्षीय ठाकुरको दिनचर्या यो उमेरमा पनि लोभलाग्दो छ ।

जनता समाजवादी पार्टी विवादले कानुनी निकास पाउने क्रममा ५१ केन्द्रीय कार्यकारिणी समितिका ३४ जना उपेन्द्र यादवतिर उभिए । ठाकुर पक्षमा १६ जना मात्र भए ।

बहुमत जुटाएको यादव पक्षलाई जसपाको आधिकारिकता दिएपछि त्यागको राजनीतिमा आफूलाई समर्पण गरेका ठाकुरको भावी यात्रा कतातिर मोडिने हो ? आम चासोको विषय बनेको छ ।

ठाकुरसमक्ष नयाँ दलको सारथी हुने वा विश्राम लिने दुई विकल्प बाँकी छ । तर यी दुवै बाटो उहाँका लागि सहज भने छैन ।