
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादको परिस्कृत विवरण पेश गर्न क्रियाशील सदस्यता छानविन समितिलाई २४ घण्टाको समय दिइएको छ।
बुधबार बसेको कांग्रेसको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविन समितिलाई २४ घण्टाभित्र बाँकी रहेको काम पूरा गर्न जिम्मेवारी दिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
प्रवक्ता शर्माले भने, ‘भदौ १६ गते आउन ३५ दिन बाँकी छ । हामीले ८ ओटा तहमध्ये ७ ओटा तहको निर्वाचन सक्नुपर्ने हुन्छ । वडा तहको निर्वाचन हामीले स्थगित गरेका छौँ । क्रियाशील सदस्यको प्रतिवेदनमाथि छलफल थालनी भएको छ ।’
रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील सदस्यता छानवीन समितिले गत मंगलबार पार्टी सभापति देउवालाई पार्टीको क्रियाशील सदस्यता छानवीन समितिको प्रतिवेदन बुझाएको थियो ।
बैठकमा क्रियाशील प्रतिवेदन अध्ययन गर्न अर्को समिति बनाउनेबारे पनि छलफल भएको थियो ।पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य मिनेन्द्र रिजाललगायत रहने गरी समिति बनाउने भने पनि पछि लेखक नेतृत्वकै समितिलाई २४ घन्टा समय दिइएको स्रोतको दावी छ ।
कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठक बिहीबार दिउँसो २ बजे पुनः पार्टी सभापति देउवाकै निवास बुढानिलकण्ठमा बस्नेछ ।
बैठकले पार्टीको आसन्न महाधिवेशनको तयारीका विषयमा विस्तृत रुपमा छलफल गर्ने प्रवक्ता शर्माले बताउनुभयो । हालसम्म १४ औं महाधिवेशनको भदौैं १६–१९ मा तोकिएको मिति सार्ने विषयमा पार्टी भित्र कुनै छलफल नभएको काँग्रेसले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्