१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगलाई छुट दिने सरकारको तयारी


0
Shares

काठमाडौं । सरकारले औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने तथा स्थानान्तरण गर्ने उद्योगलाई छुटको सुविधा दिने भएको छ ।

सरकारले निर्माणाधीन औद्योगिक क्षेत्रमा उद्योग खोल्ने व्यवसायीलाई कर, पूर्वाधार लगायतका सुविधा दिन प्रक्रिया अघि बढाएको हो ।

औद्योगिक पूर्वाधार निर्माणका लागि चालू वर्षमा २ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै, विशेष आर्थिक क्षेत्र (सेज) पूर्वाधारका लागि ५२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यो बजेट औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रमा पूर्वाधार निर्माणमा खर्च गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नयाँ औद्योगिक क्षेत्रमा उद्योग खोल्ने व्यवसायीका लागि प्रारम्भिक पूर्वाधार सरकार आफैंले नै निर्माण गर्ने मन्त्रालयले जनाएको छ ।

यस्ता उद्योगले करमा पनि थप छुट पाउने छन् । चालू आर्थिक वर्षको बजेटअनुसार औद्योगिक क्षेत्र वा औद्योगिक ग्रामबाहिर सञ्चालनमा रहेका उद्योगहरु औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थानान्तरण भएमा सुरुको तीन वर्षसम्म आयकरमा ५० प्रतिशत छुट पाउनेछन् ।

यस्तै, त्यसको पाँच वर्षसम्म २५ प्रतिशत छुट दिने व्यवस्था आर्थिक ऐनले गरेको छ । सरकारले झापाको दमक, मकवानपुरको मयुरधाप, रुपन्देहीको मोतिपुर, बाँकेको नौवस्ता तथा कैलालीको लम्की र कञ्चनपुरको दैजीमा आगामी दुई वर्षभित्र औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गरिने जनाएको छ ।

नयाँ औद्योगिक क्षेत्रमध्ये सर्लाहीको मुर्तिया, तनहुँको चिन्तुटार, दाङको लक्ष्मीपुर, सुर्खेतको चौरासे लगायतका स्थानमा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने जनाइएको छ । यी औद्योगिक क्षेत्रको व्यवस्थापन र सञ्चालनमा नै निजी क्षेत्रलाई सहभागी गराउने सरकारको तयारी छ ।