१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बालुवाटार छाड्नै नमान्ने ओली नियमित कार्यालयमा, भेटघाट र छलफल थापाथलीबाटै


0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थाल्नुभएको छ ।

अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरू पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गर्नुभएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । बिहीबार पनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो ।

प्रधानमन्त्री रहँदा उहाँले प्रधानमन्त्री निवास बालुवाटारबाटै पार्टीका सम्पूर्ण बैठक गर्दै आउनुभएको थियो । अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले जानकारी दिनुभयो । अध्यक्ष ओलीको स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र उहाँ सक्रिय रूपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था रहेको उहाँको भनाइ छ ।

कार्यालयको व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी केन्द्रीय कार्यालयमा अलि व्यवस्थित गरेर उहाँहरूलाई अर्को कुनै अप्ठ्यारो नहोस्, भीडभाड नहोस् भन्ने कुरालाई ध्यानमा राखेर कार्यकक्षहरूको व्यवस्था भएको छ । उहाँको भेटघाट गर्ने रुमको व्यवस्था छ । हामीले व्यवस्थित ढङ्गले नै भेट्ने र अरु पार्टीका कामहरू गर्ने वातावरण केन्द्रीय कार्यालयमा तयार भएको छ ।’

सचिव तामाङले पार्टीको बैठक तथा कार्यक्रमहरू भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । पार्टी अध्यक्ष ओलीको अत्यावश्यक बैठकहरू भौतिक उपस्थितिविना भर्चुअल माध्यमबाट पनि गर्न सकिने गरी पार्टी कार्यालयमा भर्चुवल रुम तयार गरेको जानकारी दिनुभयो ।