
दीपक श्रेष्ठ
काठमाडौं । काठमाडौंमा उपत्यकामा रहेका १ हजार ५ सय ४५ ट्राफिक प्रहरीमध्ये कोरोनाबाट संक्रमित ९२ जना निको भइसकेका छन् ।
यतिबेला ७ जना होम आइसोलेसनमा रहेका छन् । सरकारले तेस्रो भेरियन्टको कोभिड आक्रामक हुने खतरा औंल्याएपछि अग्रपंक्तिमा काम गर्ने ट्राफिक प्रहरी संस्थागत रुपमै सुरक्षाको पूर्वतयारीमा छ ।
दिर्घरोगी र गर्भवतीबाहेक सम्पूर्ण ट्राफिक प्रहरीले दुईवटै खोप लगाइसकेका छन् । ड्यूटीमा खटिने प्रहरीलाई स्वास्थ्य चेतनाका मापदण्डका विषयमा सम्पूर्ण जानकारी गराइसकिएको छ । यसअघि संक्रमित हुनेहरूमा अधिकांश प्रहरी र सिपाही र हवल्दार रहेका छन् ।
सम्भावित संक्रमणबाट बचाउन कार्यालय डाक्टरको सल्लाहबमोजिम नलगाउन भनेका बाहेक सबैलाई खोप लगाइसकिएको उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता सञ्जीव शर्मा दास बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘डाक्टरले नलगाउनु भनेका बाहेक सम्पूर्ण ट्राफिक प्रहरीलाई खोप लगाइसकेका छौँ ।’
पहिलो र दोस्रो कोरोना लहरमा देशभरिका सयौं ट्राफिक प्रहरी प्रभावित भएका थिए । आपत परेपछि होसियारी अपनाउने आम प्रवृत्तिविपरीत यसपटक भने प्रहरीले आफूलाई पूर्वतयारीमा राखेको दावी गरेको छ । संक्रमणबाट बच्न स्यानिटाइज गर्ने मेसिन खरिद गरिएको छ ।
ड्यूटीमा खटिने प्रहरीलाई अनिवार्य मास्क र सेनिटाइजको व्यवस्था मिलाइएको छ । तेस्रो लहरसँग जुध्नको लागि प्रहरी तयारी अवस्थामा रहेको प्रवक्ता दासको भनाइ छ । ‘कार्यालय बाहिर र कार्यालय भित्र हामीले तयारी अवस्था छौँ,’ उहाँ भन्नुहुन्छ, ‘अब आउने भेरियन्टसँग जुध्न हामी तयार छौँ ।’
संक्रमणमा परेका प्रहरी प्रहरीकै आइसोलेसन केन्द्रमा अनिवार्य बस्नुपर्नेछ । अरुलाई सुरक्षा गर्ने प्रहरी सबैभन्दा पहिले आफू सुरक्षित हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्