
एलबी विश्वकर्मा
काठमाडौं । कोरोना महामारीका कारण मनोरञ्जनका साधन मानिएका नाटकघर बन्द हुँदा रंगकर्मी मर्कामा छन् ।
पछिल्लो समय सिनेमाका लोकप्रिय कलाकार जन्माउने नाटकघरमा आग्लो लागेपछि रंगकर्मको विधामै क्षति पुग्ने देखिएको छ । अधिकांस कलाकार हातमुख जोर्न व्यवसाय परिवर्तनको अवस्थामा पुगेका छन् ।
कुनै बेला काठमाडौंका अधिकांश थियटरमा टनाटन दर्शक हुन्थे । अग्रिम बुकिङमा टिकट बिक्थे । नाटकबाट आएका कलाकारहरूको पर्दा र हास्य कार्यक्रममा लोकप्रियता बढेसँगै रंगकर्मीहरूको माग बढदै गएको थियो ।
दर्शकको संख्यामा भएको वृद्धिले उत्साही युवाहरूले ठाउँ–ठाउँमा नाटकघर खोले । एक वर्षभित्रै त्यो दृश्य निरासाजनक अवस्थामा बदलिएको छ । नाटकघरको त्यो आकर्षण अहिले भग्नावशेषमा परिणत भएको छ । नाटक देखाउने ठाउँमा फोहोरको साम्राज्य छ ।
न खोल्न सकिन्छ, न बन्द गर्न । अहिले सञ्चालकहरू यस्तै चेपुवामा छन् । घरभाडा तिर्न सकस छ, पेशा छोडेर कहाँ जाने अलमलमा रहेको कुञ्ज सञ्चालकका सञ्चालनक कमल ढकाल बताउनुहुन्छ ।
‘महामारी, रोग, डर र आतंकको समयमा कला र साहित्य चलेन भन्ने कुरा पनि भएन,’ निराश मुद्रामा उहाँ भन्नुहुन्छ, ‘आजकल मलाई थिएटर हेर्न पनि मन लाग्दैन ।’
अरुका कथाव्यथा ओकल्ने नाट्यकर्मी आफैं पीडाको पात्र बनेका छन् । अधिकांश नाट्यकर्मी कृषि लगायत अन्य पेशामा अंगालेको कलाकार केदार श्रेष्ठ बताउहुन्छ ।
अपवाद स्वरूप शिल्पी थियटर भने नियमित काममा जुटेको छ । साउन १७ देखि नाटक देखाउने तयारीमा आफूहरू जुटेको सञ्चालन घिमिरे युवराज बताउनुहुन्छ । अघिल्लोपटक लकडाउन खुलेपछि १० दिन नाटक गरेको उहाँ स्मरण गर्नुहुन्छ । तर, दोस्रो लहरपछि पुनः बन्द गरेको तीतो यर्थाथ छ ।
युवा पिढीका निर्देशक र कलाकारहरू यो बेला झन् बढी रचनात्मक हुनुपर्नेमा जोड दिन्छन् । निर्देशक किरण विक, संकटपछिको अवस्था एकदमै उर्वर हुने बताउनुहुन्छ । ‘यसलाई हामीले अवसरको रुपमा लिनुपर्छ,’ उहाँ भन्नुहुन्छ, ‘निश्चल बस्नेत आउने समयमा पनि संकट थियो, अहिलेको संकटबाट उहाँ भन्दा राम्रा मान्छे जन्मिनुपर्छ ।’
यस्तै कलाकार पवित्रा खड्का, सधैँ यस्तै अवस्था नरहने विश्वास गर्दै विकल्पकहरूको खोजी गर्दै आफ्नो कर्मलाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ । सामाजिक सञ्जालमार्फतबाट पनि आफ्नो कामलाई अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै, केही समयका लागि स्वतन्त्र महसुस गरे पनि दर्शकसँग अन्तर्क्रियाको भोक जागिसकेको कलाकार मानहाङ लावती बताउनुहुन्छ । ‘सुरुको केही समय पिँजडामा राखेको सुगा छुट्न पाएको जस्तो महसुस भएको थियो,’ उहाँ बताउनुहुन्छ, ‘अहिले भने दर्शकको उपस्थिति र नाटक देखाउनका लागि उत्साहित छु ।’
कोरोनालाई घाटा हैन, अवसरका रूपमा लिएर रचनात्मक भइ अघि बढ्नु नै अहिलेको बुद्धिमानी विकल्प हो । समयको माग पनि यही हो ।
प्रतिक्रिया दिनुहोस्