१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउनेलाई सय डलर दिने


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाको खोप लगाउनेहरुलाई प्रतिव्यक्ति एक सय डलर दिन विभिन्न राज्यलाई आह्वान गरेका छन् । कोरोना महामारी बढिरहेका बेला खोप लगाउनेहरुलाई आकर्षित गर्न राष्ट्रपति बाइडेनले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले संघीय सरकारका कर्मचारीका लागि पनि खोपसम्बन्धी निर्देशन जारी गरेका छन् । अमेरिकामा संघीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो । संघीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन् ।

राष्ट्रपति बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । हालसम्म अमेरिकामा आधा जनसंख्याले मात्र खोपको पूरा मात्रा लिएका छन् ।

राष्ट्रपति बाइडनले बढी संक्रामक डेल्टा भेरियन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताए । राष्ट्रपति बाइडनले पहिले नै खोप लगाइसकेका अमेरिकीहरूका लागि न्यायसङ्गत जस्तो नदेखिए पनि सबैका हितका लागि नगद प्रोत्साहन दिने घोषणा गरिएको बताए ।

अमेरिकी राज्यहरूलाई खोप लगाउने नयाँ व्यक्तिहरूलाई अब प्रतिव्यक्ति एक सय डलर दिन उनले आह्वान गरेका छन् । उनले खोप लगाउन कामदारलाई समय दिने साना र मझौला व्यवसायमा त्यसबाट पुगेको आर्थिक क्षतिको संघीय सरकारले परिपूर्ति गरिदिने बताए ।