
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताउनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्यूज’ नपाउने उल्लेख गर्दै उहाँले कहिँ कतै नचुक्न आग्रह गर्नुभयो ।
विपी कोइराला प्रतिष्ठान, खाँडादेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले केपी ओलीले यो गरेनन् त्यो गरेनन् भन्ने दिन गएको स्मरण गराउनुभयो । कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने उहाँको भनाइ छ ।
नेता थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । फरक प्रसङ्गमा उहाँले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दवाव दिनुभयो ।
पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक नभएको उहाँले स्पष्ट पार्नुभयो । पार्टीको विधानले केन्द्रीय कार्य समितिबाट सो विवाद समाधान गर्नुपर्ने व्यवस्था भए पनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको उहाँको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्