१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नयाँ–नयाँ भेरियन्ट देखिँदा खोप कति प्रभावकारी ?


0
Shares

प्रज्ञा तिमिल्सीना
काठमाडौं । कोरोना भाइरसले आफ्नाे स्वरूप परिवर्तन गरिरहँदा नयाँ–नयाँ भेरियन्टहरू देखिने क्रम जारी छ । नेपालमा पनि डेल्टा भेरियन्टबाट म्युटेसन भएको डेल्टा प्लस भेरियन्ट १२ जनामा देखिइसकेको छ ।

नेपालमा हालसम्म डेल्टा, अल्फा, गामा र कप्पा गरी चार वटा भेरियन्टको संक्रमण देखिएको छ । यी मध्ये डेल्टा भेरियन्ट सबैभन्दा बढी संक्रामक रूपमा फैलिएको छ ।

केही दिन यता डेल्टा भेरियन्टबाट म्युटेट भएको डेल्टा प्लस भेरियन्ट समेत देखिन थालेको छ । आफनो जिनमा स–साना परिवर्तन गरिरहने भाइरसको म्युटेसनले कहिले काँही भाइरसको चरित्रमा ठूलो परिवर्तन ल्याउन सक्ने विज्ञहरू बताउँछन् ।

भाइरस बढी संक्रामक हुने र खोप तथा कुनै औषधिले काम नगर्ने अवस्थालाई ‘भेरियन्ट अफ कर्न्सन’ भनिन्छ । विश्व स्वास्थ्य संगठनले अहिले डेल्टा र अल्फा भेरियन्टलाई ‘भेरियन्ट अफ कर्न्सन’काे संज्ञा दिएको छ । भाइरस बारम्बार म्युटेसन भइरहँदा खोपको प्रभावकारितामाथि पनि प्रश्न उठ्ने गरेको छ ।

भाइरस जति धेरै पटक म्युटेसन हुन्छ, त्यति नै खोपको प्रभावकारिता कम हुने विभिन्न अन्तर्राष्ट्रियले अध्ययनहरूले देखाएका छन् । तर, खोपले कामै गर्न छाड्ने भन्ने सूचना चाहिँ भ्रममात्र भएको भाइरोलोजिष्ट डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

संक्रमण रोक्न खोपको प्रभावकारिता घट्दै जाने हो । कुनै म्युटेसन बढी संक्रामक हुने भएकाले खोप तथा औषधिले काम नगर्ने अवस्था आउन सक्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ । अहिले संक्रामक रूपमा फैलिएको डेल्टा भेरियन्टमा पनि खोप प्रभावकारी नै देखिएको छ ।

खोप लगाएका व्यक्तिहरूमा संक्रमण देखिए पनि गम्भीर अवस्था आएर अस्पताल नै भर्ना हुनुपर्ने अवस्था नआएको चिकित्सकहरू बताउँछन् । खोप लगाउँदा भाइरसको म्युटेसनको गति पनि सुस्त हुने अध्ययमा देखिएको छ ।

भाइरसको फैलावटलाई कम गर्न सके म्युटेसन पनि कम हुनेछ । त्यसैले सबैलाई खोप दिनु नै संक्रमण नियन्त्रणको उत्तम विकल्प हो ।