
एजेन्सी । अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकन र तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिबीच नयाँ दिल्लीमा भएको भेट वार्ताप्रति चीनले आपत्ति जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले उक्त भेटप्रति आपत्ति जनाउँदै तिब्बतको विषय चीनको नितान्त आन्तरिक मामिला भएको र यसमा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो । साथै उहाँले अमेरिकालाई फेरि यस्ता गतिविधि नगर्न चेतावनी समेत दिनुभएको छ ।
दलाई लामा एक धार्मिक नेता मात्र नभई राजनीतिक रूपले निर्वासित व्यक्ति भएको उल्लेख गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दलाई लामालाई चीन विरोधी व्यक्तिको संज्ञा दिनुभयो । तिब्बतलाई चीनबाट अलग गर्ने प्रयासमा लागेका दलाई लामालाई भेटेर अमेरिकी विदेशमन्त्री ब्लिंकनले ठूलो भुल गरेको चीनको आरोप छ ।
यसअघि अमेरिकाले स्वतन्त्र तिब्बतको समर्थन नगर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै चाओले अमेरिका प्रतिबद्धताबाट पछि हटेको आरोप लगाउनुभयो । चीनको आक्रोशप्रति अमेरिकाले कुनै प्रतिक्रिया जनाएको छैन ।
प्रतिक्रिया दिनुहोस्