७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


उखु किसानले अझै पाएनन् भुक्तानी, आन्दोलनका लागि ऋण काढेर काठमाडौं आउँदै किसान


0
Shares

नारायणी लामिछाने
काठमाडौं । सर्लाहीका राम विलास महतो उखुको बेचेको रकम भुक्तानीको माग गर्दै काठमाडौं आउनुभएको यो पाँचौं पटक हो । ३ पटक सम्म रकम पाउने आशामा फर्किएका महतोले विभिन्न उद्योगबाट करिब १ लाख रुपैयाँ लिन बाँकी छ । तर, ऋण काढेर पटक–पटक काठमाडौं आउनु उहाँका लागि नियमित कर्म बनेको छ ।

२०७६ मा विक्री गरिएको उखुको भुक्तानीको माग गर्दै काठमाडौंका माइतीघर मण्डलामा भइरहेको आन्दोलनमा उनी अग्रपंक्तिमा थिए । उखु विक्रीको भुक्तानी लिउँला र ऋण तिरौंला भन्ने उनको योजना सपनामै सीमित भयो ।

सोमबार पुनः सरकारलाई घच्घच्याउन उखु किसानको एक टोली काठमाडौं आइपुगेको छ । यो टोलीकै ४ जना काठमाडौं गौशालाको धर्मशालामा बस्दै आएका छन् । उनीहरूलाई हाम्रो टिम नेपालले १ सय रुपैयाँमा खाना खुवाँउदै छ । महालक्ष्मी सुगर मिल, ईन्दिरा सुगर मिल, अन्नपूर्ण उखु मिल, लुम्बिनी उखु मिलले अझै किसानलाई रकम दिन बाँकी छ ।

पटक–पटक भुक्तानीका लागि काठमाडौं उत्रिएका उखु कृषक हरिश्याम राय भन्छन्, ‘जबसम्म पैसा पाँउदैनौं तब सम्म आन्दोलन गरिरहन्छौं ।’ यस अवधिमा कतिपय किसानले त पैसा पाइँदैन भन्दै आशै मारिसकेको थिए । तर, आन्दोलन पछि केही भुक्तानी पाएकाले आशा जागेको छ ।
‘बक्यौता रकम दियो भने, आन्दोलन गर्न हामीलाई पनि रहर छैन,’ भावुक मुद्रामा राय भन्नुहुन्छ, ‘काठमाडौं आउन मन छैन, काठमाडौं आउन मात्रै १२ सय रुपैयाँ खर्च हुन्छ, त्यो पैसाले त हामीलाई महिना दिनलाई पुग्ने चामल किन्न पुग्छ ।’

सर्लाही रौतहट लगायतका जिल्लाका गाँउमा धान रोपाईँ चलिरहेको छ । वर्षभरीको खाने सामग्री जोहो गर्ने समयमा यी किसान काठमाडौं धाउनु बाध्यता बनेको छ । २०७५ सालमा उखु भुक्तानी रकम लिनका लागि सर्लाहीमा उखु किसान संघर्ष समिति नै बन्यो । पटक–पटक जनप्रतिनिधिलाई गुहार्दा पनि समस्या बीसको उन्नाइस नभएको किसान रामस्वार्थ राय बताउनुहुन्छ ।

कर्जा सापटी लिएर उखु खेती गरेका कति किसानको जग्गा लिलामी समेत भएको छ । प्रमुख प्रतिपक्षी हुँदा कांग्रेसले उखु किसानका पक्षमा समर्थन जनाएको थियो । हाल सत्तारुढमा अनुवाद भएको कांग्रेसले कस्तो भूमिका खेल्छ, उनीहरू पर्ख र हेरको अवस्थामा छन् ।