२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओली पीडितहरूको क्लब जस्तो सत्ता गठबन्धन, देउवाका लागि चुनौतीपूर्ण यी पाँच विषय


0
Shares

रोमन आचार्य
काठमाडौं । कागताली परेर पाँचौं पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाका लागि यो पटकको कार्यकारी यात्रा सहज छैन ।

स्वार्थ बाझिएका दलहरूसँगको कार्यगत एकता, पूर्वप्रधानमन्त्रीहरूको भीड, घाइते बाघजस्तो आक्रामक प्रतिपक्ष, आन्तरिक कलहमा गुज्रिएको आफ्नै पार्टी र सरकारबाट सुशासन खोजिरहेका जनताबीच समन्वयन मिलाउने ठूलो चुनौती छ ।

पाँचौ पटक सरकारको मुखिया भएर इतिहासमा नाम लेखाउनुभएका शेरबहादुर देउवा यतिबेला तातो तावामा बस्नुभएको छ । केपी ओली पीडितहरूको क्लबजस्तो लाग्ने गठबन्धनका लागि भावी यात्रा थप चुनौतीपूर्ण छ । देउवाको स्वभाव र गठबन्धनको म्याण्डेटबीच तालमेल खाने देखिँदैन ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई नियम विपरीत सरकारी उपचार खर्च दिलाउने विषयले सरकारको पहिलो गाँसमै ढुंगा लागेको छ । सरकारी निर्णय कुन वैधानिकतामा टेकेर गरिएको भन्दै थुप्रै वकिलले प्रधानमन्त्री कार्यालयमा सूचना मागिरहेको अवस्था छ ।

स्वार्थ बाझिने व्यक्तिलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको भन्दै असन्तुष्टि सार्वजनिक भएका छन् । यद्यपि गठबन्धनभित्रकै एक वरिष्ठ सदस्य एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यो सरकारलाई गल्ती गर्ने छुट नभएको बताउनुहुन्छ । ‘पार्टीबाट पनि उहाँलाई सुझाव दिनुभएको होला,’ उहाँ भन्नुहुन्छ, ‘हामीले पनि उहाँलाई विगतका गल्तीलाई नदोहो¥याइ सुधारिएर जान आग्रह गरेका छौँ ।

विगतले भन्छ– प्रधानमन्त्री देउवालाई आलोचनाले छुँदैन । कांग्रेसका अघिल्लो पुस्ताका नेताझैँ उहाँ एकैचोटि निर्णय सुनाउनुहुन्छ । नयाँ सरकार बनेपछि जनताका नाममा नयाँ समाचारको कुनै गृहकार्य छैन । अघिल्लो सरकारका निर्णय खारेज गर्न जति सजिलो छ, जनहितमा काम गर्न उतिक्कै कठिन छ ।

दुई हप्तासम्म सरकार विस्तार भ्यागुताको धार्नी बनेको छ । देउवाको कार्यशैली नजिकबाट नियालेका वरिष्ठ पत्रकार किशोर नेपाल वर्तमान प्रधानमन्त्रीमा समस्या समाधान गर्ने नभई त्यसबाट उम्कने कला भरपूर रहेको बताउनुहुन्छ । ‘देउवालाई प्रचण्ड, उपेन्द्र यादव वा माधव नेपालले घेरेर राख्न सक्दैनन्,’ उहाँ भन्नुहुन्छ, ‘उनी कसैको कुरा पनि सुन्दैनन् र शक्तिलाई कसरी सन्तुलनमा राख्नुपर्छ भन्ने पनि थाहा छ ।’

पत्रकार नेपालको मूल्याङ्कनमा देउवाले गठबन्धन र पार्टीलाई नचिनी शक्तिलाई मात्र चिन्ने मान्छे हो । नयाँपुस्ताले अपेक्षा गरेको सुधार उहाँबाट सम्भव नभएको नेपालको भनाइ छ । ‘शक्तिलाई घमण्डको रुपमा लिने प्रवृत्ति छ,’ उहाँ भन्नुहुन्छ, ‘७० वर्ष भन्दा माथिका वृद्धहरूले ३५ वर्षभन्दा मुनिका मानिसको मनोभावना बुझेर काम गर्न र ५० वर्षसम्मका लाई मिलाएर उत्पादन लिन सम्भव छैन ।’

कोभिडको महामारी, सुशासनको दवाव, पदको महत्वाकांक्षामा घेरिएको वर्तमान सरकारले आफूलाई कसरी सन्तुलित बनाएर अघि बढ्छ, हेर्न बाँकी छ ।