
दुर्गा उपाध्याय
कञ्चनपुर । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै गत वैशाख १६ गतेबाट लकडाउन गरिएको कञ्चनपुरमा अहिले पनि बेलुका ६ बजेपछि निषेधाज्ञा कायम छ । स्थानीय प्रशासनले मानिसको भीड नियन्त्रणका लागि अत्यावश्यक कामबाहेक हिँडडुल गर्न तथा सभा, समारोह, जुलुसलगायतका गतिविधिमा रोक लगाएको छ ।
तर कोरोनाको खोप अभियान सुरु भएपछि भने अधिकांश खोप केन्द्रहरुमा स्थानीयको भीड लाग्ने गरेको छ । त्यतिमात्रै नभइ भौतिक दूरी तथा लक्षित समूह अनुसारको लाइनको व्यवस्था नहुँदा जेष्ठ नागरिक तथा अन्य व्यक्ति एउटै लाइनमा ठेलमठेल गरी सहभागी भएका हुन्छन् ।
जसले गर्दा एकातिर जेष्ठ नागरिकलाई खोप लगाउन सास्ती भएको छ भने अर्कोतिर संक्रमणको जोखिम पनि उत्तिकै बढेको छ । सरकार आफैंले निर्धारण गरेको स्वास्थ्का मापदण्ड पालना नगर्दा व्यवस्थापकीय कमजोरीले संक्रमणको जोखिम झनै बढेको स्थानीय बताउँछन् ।
खोप केन्द्रहरुमा दूरी कायम गर्नका लागि आवश्यकता अनुसार प्रहरी तथा नगर प्रहरी परिचालन गरिएको छ । खोप कार्यक्रम बेलुका ५ बजेसम्म सञ्चालन हुने भएपनि स्थानीय बिहान एकैपटक आउने भएकाले पनि भीड भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनार बताउनुहुन्छ । भीड व्यवस्थापनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको उहाँको दावी छ ।
खोप केन्द्रहरुमा व्यवस्थापकीय कमजोरी भएको गुनासो आएसँगै प्रमुख जिल्ला अधिकारीसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा नागरिकहरु उत्साहित हुँदै खोप अभियानमा सहभागी भएको र व्यवस्थित रुपमा खोप कार्यक्रम सञ्चालन भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको भनाइ छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि खोप अभियानमा नागरिकलाई सहभागी गराउनु सरकारको दायित्व हो । तर खोप केन्द्रलाई नै जोखिम स्थल बन्न नदिन ध्यान पु¥याउन भने आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्