१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विघटित कार्यदलका सदस्यहरूको बैठक : एमाले एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड


0
Shares

काठमाडौं । नेकपा (एमाले)को विघटित एकता कार्यदलका सदस्यहरूले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्यदलको बैठकमा नेताहरूले एकतामा ढिलाई भए पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै एमाले नेता गोकर्ण विष्टले १० बुँदे सहमति र दुई अध्यक्षको प्रसङ्ग चलिरहेकाले त्यसैलाई आधार बनाएर पार्टी एकताको प्रयत्नमा केन्द्रित हुने स्पष्ट पार्नुभयो ।

नेता रघुजी पन्तले आफूहरूको छलफल पार्टी एकताको विषयमा केन्द्रित रहेको भन्दै चाँडै सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । राजनीति निश्चित नभएको बताउँदै उहाँले कहिलेकाहिँ सहमति ढिला पनि हुनसक्ने टिप्पणी गर्नुभयो ।

नेपाल पक्षले एकताका लागि अध्यक्षमण्डलको अवधारणा अघि सारेको छ भने अध्यक्ष ओली पक्षले एकता कार्य दलले जुटाएको १० बुँदे सहमतिलाई मुख्य आधार बनाउनु पर्नेमा जोड दिँदै आएको छ ।