
एजेन्सी । अमेरिकाको एक संस्थाले अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्नसक्ने चेतावनी दिएको छ ।
अहिले अफगानिस्तान सरकारले निकै ठूलो खतराको सामना गरिरहेको सो संस्थाको भनाइ छ । अहिले देखिएको समस्या समाधान नगरिए अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्न सक्ने उक्त संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको बीबीसीले जनाएको छ ।
अफगानिस्तान सरकारका सेना र वायु सेना, घट्दो राजश्व र बढ्दो हिंसा जस्ता धेरै विषयहरूलाई संकटको कारणको रुपमा उल्लेख गरिएको छ । अमेरिका र तालिबान समूहबीच सम्झौता भएपछि पनि तालिवानले हिंसा रोकेको छैन ।
यसै वर्षको मार्च २०२१ देखि मे २०२१ को बीचमा तालिबान लडाकुको तर्फबाट एक हजार तीन सय ८३ मा आक्रमण भएको र सम्झौतापछि आम सर्वसाधारणको हत्याको संख्या बढेको पाइएको छ ।
सन् २०२१ को पहिलो त्रैमासिकमा ६७३ जनाको हत्या भएकोमा दोस्रो त्रैमासिकमा त्यो संख्या बढेर ७०५ पुगेको रिपोर्टमा उल्लेख छ । अफगान सरकारको मुख्य आम्दानीका स्रोत तालिवानको नियन्त्रणमा रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअघि अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघको मुख्य परिसरमा हमला भएको थियो ।
यस हमलामा एक पुलिसको मृत्यु भयो भने अन्य केही अधिकारी घाइते भएको बताइएको छ । सो घटनाको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्