
काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइनको लठ्ठा काटेपछि महाकाली नदीमा बेपत्ता भएका ३३ वर्षे नेपाली युवा जयसिंह धामीको विषयलाई लिएर देशभरि चासो बढेको छ ।
कुटनीतिक माध्यमबाट नेपालले यस अमानवीय कार्यको डटेर मुकाविला गर्नुपर्ने आवाज सर्वत्र उठेको छ । सत्तारुढ नेपाली कांग्रेसले समेत यो घटनाको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाल तर्फको बाटो पहिरोले प्रयोगविहीन बनेपछि व्यास गाउँपालिकाका बासिन्दा भारतको धार्चुलाको बाटो हुँदै दार्चुला सदरमुकाम खलंगा जाने गर्छन् । तुइन पार गर्ने वित्तिक्कै सदरमुकाम जाने गाडी भेटिने र दूरी पनि ह्वात्तै घटने भएकाले जोखिम मोलेरै भए पनि यो बाटो रोजाइमा परेको हो ।
नेपाल तर्फबाट महाकाली नदीको आधा भागमा पुगेका जयसिंह एसएसबीले भारतपट्टि बाँधिएको तार काटिदिएपछि तारसँगै बेरिएर नदीमा बेपत्ता भए । घटनालगत्तै मृतकका आफन्तले स्थानीय प्रशासनमा उजुरी हालेका छन् । प्रशासनले धार्चुला प्रशासनलाई पत्र लेखेको छ ।
एकातिर चुचे नक्सामा नेपाली समाज मख्ख परिरहेका बेला भएको यो घटनाले राजनीतिक प्रतिबद्धता र हामीले भोग्ने यथार्थबीचको खाडल सम्झाइदिएको छ । दार्चुलाबासी मात्र हैन, आम नेपाली यो घटनापछि झस्किएका छन् ।
घटनाको यथार्थ छानबिनका लागि नेपालका तर्फबाट पहल गरिएको भए पनि भारतीय पक्षले त्यसको जवाफ दिने वा होइन भन्ने प्रतिक्षाको विषय बनेको छ ।
यो घटना नभइ गोली हाने बराबरकै अमानवीय क्रूर हत्या हो भन्नेमा सबैको एकमत छ । धामीको लास र सास मध्ये एक भेटिएला नै । तर, घटनाका दोषीलाई सजाय दिलाउने राजनीतिक इच्छाशक्ति हामीसँग छ कि छैन अहिलेको चुरो प्रश्न यही हो ।
अर्कोतिर चार वर्षअघि नै यो ठाउँमा पुल बनाउने बजेट छुट्याएर आजसम्म सिन्को नभाँच्नेलाई कारबाहीको दायरा ल्याउनुपर्छ कि पर्दैन ? तुइनको लठ्ठा काट्ने र ठेक्कामा गइसकेको पुल पुल नबनाउने दुवैलाई कारवाही हुनुपर्ने जनआवाज छ ।
प्रतिक्रिया दिनुहोस्