
खिलनाथ ताजपुरिया
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच तेजोवधका गतिविधि झन्झन बढन थालेपछि पार्टी एकताको प्रयास बालुवामा पानीसरह बन्दै गएको छ ।
एकले अर्कोलाई देशद्रोही र राजा बनेको आरोप लाउन थालेपछि मिलनविन्दु टाढिँदै गएको छ । दुवै पक्ष लडाकू संगठन खोलेर मुठभेडतर्फ अग्रसर भएका छन् ।
एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलमा बसिरहँदा अध्यक्ष केपी ओली माधव नेपाललाई देशद्रोहीको विल्ला भिराइरहनु भएको थियो । त्यही क्षण माधवकुमार नेपाल लडाकू फोर्सको उदघाटन गरेर पत्थरको जवाफ पत्थरले दिने उद्घोष गरिरहनुभएको थियो ।
एकातिर पार्टी एकताको प्रयास अर्कातिर प्रतिशोधको राजनीति यो द्वैध चरित्रले पार्टीलाई कहाँ पुर्याउँछ ? शुभचिन्तकहरूलाई चिन्तित बनाएको छ । वरिष्ठ पत्रकार तीर्थ कोइराला गालीगलौज छोडेर महाधिवेशनसम्म एउटा ठोस सहमतिमा जानु दुवैका लागि विवाद साम्य बनाउने उत्तम विकल्प भएको बताउनुहुन्छ ।
माधव नेपाल आफ्नो शक्तिशाली सरकार ढाल्ने मतियार बनेको निष्कर्षमा पुग्नुभएका ओली उहाँलाई पार्टीमा राख्ने पक्षमा हुनुहुन्न । समस्याका चुरो यही विषयमा रहेको विश्लेषकहरूको बुझाइ छ । यद्यपि पार्टी नेतृत्वकर्ताको हैसियतले ओलीले चौडा छाती बनाउनुपर्ने पत्रकार कोइरालाको विश्लेषण छ ।
गुट, फूट र झूटको चक्रव्यूहमा फसेको नेपालको बाम राजनीति फेरि अर्को अन्धकार कालखण्डमा आएको छ । पाँच वर्षका लागि जनताले सुम्पिएको राजपाट प्रमुख प्रतिपक्षीलाई बुझाएका नेताहरूका लागि कम्युनिष्ट एकताको कुरा गर्ने कति जमिन बाँकी छ ? उत्तरविनाको प्रश्न थप पेचिलो बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्