१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारततर्फ चिनियाँ स्याउको खुलेआम तस्करी, पोके तस्करबाट हैरान प्रहरी


0
Shares

अनिल तिवारी
वीरगन्ज । नेपालबाट भारत तर्फ चिनियाँ स्याउको खुलेआम तस्करी भइरहेको छ । वीरगन्जबाट सीमावर्ती भारतको रक्सौल, भेलाही, सिकटा, आदापुर घोडासहन लगायत अधिकांश सीमावर्ती बजारहरूमा चिनियाँ स्याउको तस्करी भएको छ ।

वीरगन्ज भन्सार तथा छेउछाउको नाकाबाट पोके तस्करहरूले स्याउ भारत पुर्याउने गरेका छन् । वीरगंज आसपासका नाका हुँदै दैनिक २ ट्रक भन्दा बढीको स्याउ पोके तस्करहरुले रक्सौलका फलफूल व्यवसायीकहाँ पुर्‍याइरहेका छन् ।

पर्सा प्रहरीले ट्रक तथा ट्याक्टरबाट हुने तस्करीको लाइनमा कडाइ गरेपछि ठूला तस्करहरु पोके तस्कर प्रयोग गर्न थालेका हुन् । वीरगन्जको शंकराचार्य–मितेरी पुलको मुख्य बाटोमै सुरक्षाकर्मीको मौन सहमतिमा लाखौंको स्याउ तस्करी भइरहेको प्रत्यक्षदर्शीले बताउँछन् ।

विशेषगरी, महिला तथा बालबालिकालाई लगाउने तस्करहरूले साँझ–बिहानको समयमा नेपालबाट स्याउको दुईदेखि चार कार्टुनसम्म टाउको र साइकलमा बोकेर रक्सौल पुर्‍याइरहेका छन् । नेपाल भन्दा भारतमा २० रुपैयाँ बढी मूल्य पर्ने भएकाले चिनियाँ स्याउको तस्करी मौलाएको हो ।

वीरगन्जका विभिन्न कोल्डस्टोरमा भण्डारण गरिएका स्याउलाई यहाँका व्यवसायीले पोके तस्करमार्फत सीमा कटाइरहेका छन् । दुई कार्टुन रक्सौल पुर्‍याउँदा पोके तस्करले ५० रुपैयाँ पाउँछन् । एक जनाले दिनभरीमा ४/५ खेप ओसार्छन् ।

पर्सा प्रहरीलाई पनि यसबारे जानकारी नभएको होइन । प्रहरीले केही कार्टुन स्याउ बरामद गरे पनि अधिकांश अझै तस्करी भइरहेका छन् । तस्करी रोक्न प्रहरीले काम गरिरहेको र हालसम्म १४ कार्टुन र चार बोरा स्याउ बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।

सशस्त्र प्रहरीले पनि दुई कार्टुन स्याउ बरामद गरेको पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । स्थानीयलाई रोजगारीको उचित प्रबन्ध नगरिएसम्म तस्करी नियन्त्रणमा समस्या आउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘एक किलोमिटरमा चार ठाउँमा चेकिङ छ, तै पनि पोके तस्करी घटेनन् ।’

रजत जयन्ती चोकदेखि सीमासम्म सशस्त्र र नेपाल प्रहरीको ५ ठाउँमा चेकिङ छ । रजत जयन्ती चोक, जिलेवीगाछी, वीरगंज भन्सार, इनर्वा थाना, मितेरी पुलमा चेकजाँच हुने गरेको छ । तैपनि टाउकोमा राखेर सामान ओसारपसार गर्नेहरू घटेका छैनन् ।