
काठमाडौं । ललितपुर महानगरपालिकाले भोलीे जनसम्पर्क धेरै हुने पेसा र व्यवसायमा संलग्न रहेकालाई कोरोना भाइरस विरूद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार महानगरका बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी, ललितपुर महानगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाका कर्मचारीले यो खोप पाउनेछन् ।
साथै महानगरपालिका भित्र चल्ने सार्वजनिक बस, माइक्रोबस र टेम्पोका चालक र सह–चालकलाई पनि यो खोप लगाइनेछ ।
यसका लागि पाटनढोका स्थित पाटन मावि, जावलाखेल चोकको फुटबल मैदान र सातदोबाटोमा रहेको महेन्द्र आर्दश माविमा खोप केन्द्र तोकिएको छ ।
ललितपुर महानगरपालिकाले यसअघि नै अपागंता भएका, महानगरभित्र भएका सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई खोपको व्यवस्था गरिसकेको छ । विदेश जान टिकट र भिसा लिएकालाई यस अघि पनि महानगरले खोपको व्यवस्था गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्