१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दार्चुलामा आफ्ना सुरक्षाकर्मीले तुइन नकाटेको भारतीय पक्षको दाबी, आफै चिप्लिएर युवक नदीमा खसेको जिकीर


0
Shares

काठमाडौं । दार्चुलाका जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको घटनामा आफ्ना सुरक्षाकर्मीको संलग्नता नरहेको दावी भारतीय पक्षले गरेको छ ।

हिजो दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले घटनामा एस.एस.बीको संलग्नता नरहेको दाबी गरेका हुन् ।

दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले भारतले पत्र पठाएको पुष्टि गर्दै पत्रमा तुईन तरिसकेपछि युवक आफैं चिप्लिएर नदीमा खसेको जिकीर गरिएको उल्लखे गर्नुभयो ।

एसएसबीको टोली घटनास्थल पुग्नुभन्दा अघि नै दुर्घटना भईसकेको र घटनापछि खोजीका लागि एसएसबीलाई तयारी अवस्थामा राखेको दाबी पनि भारतीय पक्षले गरेको दार्चुला जिल्ला प्रशासनले जनाएको छ ।

यसअघि पनि अनधिकृत तुइन हटाउने गरेको पनि पत्रमा उल्लेख रहेको जनाइएको छ । यसैबीच, धामी नदीमा वेपत्ता भएको घटना छानविन गर्न नेपाल सरकारले समिति गठन गरेको छ ।

यता, गृह मन्त्रालयले भने घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिईसकेको भन्दै भ्रम फैलाउने समाचार तथा सूचना संप्रेषण नगर्न आग्रह गरेको छ ।