
काठमाडौं । सप्तरी जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट आज फेला परेको छ ।
चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिवार राती सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चोरी भएको थियो ।
चोरी गरेका मण्डलले बिहान आफैँले मुकुट ल्याएको र मन्दिर स्थापना गर्ने भन्दै गाउँमा हल्ला गर्दै हिँडेकोले स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
पक्राउ परेका मण्डलको साथबाट ७५० ग्रामको चाँदीको मुकुट, सुनको टीका र नथिया बरामद गरिएको छ । मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्