२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


महिनावारीकाे बेला पनि कञ्चनपुरका महिला घरमै बस्न थाले (भिडियाेसहित)


0
Shares

दुर्गा उपाध्याय

कञ्चनपुर । महिनावारी भएका बेला पहिले घरदेखि दुई मिटर टाढा सानो गोठ बनाएर छुट्टै बस्ने गरेका कञ्चनपुरका महिला अहिले निससंकोच घरमा बस्न थालेका छन् ।

उनीहरुमध्ये केही मुल घरभित्रै बस्न थालेका छन् भने केही घरको छेउमै व्यवस्थित कोठा बनाएर बस्न थालेका छन् । त्यतिमात्रै होइन पहिले महिनावारीका बेला उनीहरुलाई शौचालय र धारा छुन रोक लगाउने गरिन्थ्यो । जसले गर्दा दिशा, पिसाब गर्न तथा नुहाउन, लुगा धुन खोलामा जानुपर्ने बाध्यता थियो ।

तर अहिले घरकै शौचालय र धारा प्रयोग गर्न सक्ने भएका छन् उनीहरु । सरकारले चलाएको अभियानले आफूहरुलाई निकै राहत भएको बेदकोट नगरपालिका– १ की विन्दु सार्की बताउँनुहुन्छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लामा छाउप्रथालाई परम्पराका रुपमा हेर्ने गरिन्छ । घरभित्रै बसे देवता रिसाउने र अनिष्ट हुने अन्धविश्वासका कारण अहिले पनि पुरानो पुस्ताले छाउप्रथालाई निरन्तरता दिएको देखिन्छ । एकैपटक छाउप्रथा नहट्ने तर पहिलेभन्दा निकै परिर्वतन भएको बेदकोट– १ कै सरिता कार्कीको भनाइ छ ।

महिनावारीका बेला छुट्टै गोठमा बस्दा सर्प तथा जंगली जनावरबाट महिला असुरक्षित मात्रै नभएर उनीहरुमाथि हिंसासमेत हुने गरेका छन् । त्यसैले अधिकांश स्थानीय तहहरुले छाउप्रथा अन्त्य गर्न विभिन्न अभियान सञ्चालनमा ल्याएका छन् । छाउगोठ भत्काउने तथा छाउप्रथालाई प्रश्रय दिनेलाई सरकारी सेवा सुविधाबाटै बञ्चित गरिएपछि अहिले धेरै ठाउँमा कम भएपनि पूर्ण रुपमा यसको निर्मूलिकरण नभएको जिल्ला समन्वय समिति कञ्चनपुरका उप–प्रमुख सानुकुमारी बुड्थापा महरा बताउँनुहुन्छ ।

मुलुकी अपराधसंहिता २०७४ मा सामाजिक विभेद् र सद्भाव तथा अपमानजनक व्यवहारविरुद्ध कानुनी व्यवस्था गरिएको छ । तसर्थ अब सरकारले सम्बन्धित समुदायको मानसिकतामा परिर्वतन गर्ने खालका कार्यक्रम चलाउने र राज्यबाट दिइने सेवा सुविधामा पनि रोक लगाउने नियमलाई अझै प्रभावकारी रुपमा अगाडी बढाउन सके छाउपडी कुप्रथाको अन्त्य हुने निश्चित छ ।