१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने


0
Shares

काठमाडौं । काठमाडौंमा साउन २२ गतेदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ ।

खोपको पहिलोमात्रा लगाएर २१ दिन पुरा भएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यलय काठमाडौंले जनाएको छ ।

जिल्ला खोप समन्वय तथा अनुगमन समितिको हिजो बसेको बैठकले साउन २२ गतेदेखि २४ गतेसम्म भेरोसेलको दोस्रो मात्रा लगाउने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा बसेको उक्त बैठकले काठमाडौं महानगरका ३२ वटै वडाहरुमा र अन्य १० वटा पालिकाको स्कुल वा फराकिलो स्थानमा खोप केन्द्र राख्ने निर्णय गरेको छ ।

दोस्रो मात्रा खोप लगाउने व्यक्तिहरुले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र जानुपर्ने छ ।

अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसुति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगञ्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

विदेशमा काम गर्न जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ ।