
रत्न आचार्य
सुनसरी । स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँग छ बुँदे सहमति भएपछी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्यकर्मीहरु काममा फर्किएका छन् ।
बुधवार स्वास्थ्य मन्त्रालयले गठन गरेको स्वास्थ्य सेवा विभागका निर्देशक डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा भएको वार्तामा छ बुँदे सहमति भएपछि आन्दोलनरत स्वास्थ्यकर्मीहरु काममा फर्किएका हुन् ।
मन्त्रालयको टोलीसँग हिजो प्रधानमन्त्रीलाई बुझाइएको कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वय गर्ने, प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहलाई पदीय आचरण विपरित काम गरेकाले बर्खास्त गर्नका लागि प्रक्रिया अगाडि बढाउने, प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्दा मापदण्ड सहितको कार्यविधि बनाई योग्य व्यक्तिहरुलाई नियुक्ति गर्नुपर्ने सहमति गरिएको बीपी प्रतिष्ठान शुद्धीकरण अभियान आन्दोलन संघर्ष समितिका सह-संयोजक डा. विष्णु पोखरेलले बताउनुभयाे ।
उहाँका अनुसार प्रतिष्ठानमा भएका आर्थिक अनियमितताकाे अख्तियारले हेर्ने र अदालतमा भएका विचाराधीन मुद्दाको फर्छौट गरी दोषीलाई कारबाही गर्नुपर्ने, प्रतिष्ठानमा भएका बेथिति र भष्ट्राचारको छानबिन गर्न आन्दोलनकारीहरुको प्रतिनिधित्व हुने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने र आन्दोलनरत स्वास्थ्यकर्मीहरुले प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा लगाएको तालाबाहेकका आन्दोलनका कार्यक्रम फिर्ता गरी बुधवारदेखि नियमित काममा फर्किने सहमति गरिएको छ ।
सहमति पश्चात ५१ दिनदेखि आन्दोलन गरिरहेका चिकित्सक, नर्स र कर्मचारीहरु नियमित काममा फर्किएको पनि डा. पोखरेलले जानकारी दिनुभयो । उहाँले प्रतिष्ठानमा भएका छानिबन समितिका सबै प्रतिवेदन सार्बजनिक गर्नुपर्ने र प्रतिवेदनमा उल्लेख भएका विषय सम्बोधन नगरिए पुनः कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
वार्ता समितिका संयोजक पौडेलले आन्दोलनरत स्वास्थ्यकर्मीसँग भएको सहमति कार्यान्वयनका लागि मन्त्रालयबाट काम सुरु गर्ने आश्वासन दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्