१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीमा बदेलका लागि छाडिएको करेन्ट लागेर दाजुभाईको मृत्यु


0
Shares

विनोद सिंह विष्ट,

बैतडी । जंगली बदेलको लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।

बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जंगली बदेलको लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुबैजनाको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“जंगली बदेल मार्नका लागि मकैबारीमा करेन्ट छोडेको रहेछ,उनीहरु बदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने बुझिएको छ ।”

करेन्ट लाग्ने वितिक्कै दुबैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैजना सहोदर भाई हुन् ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ ।

जिल्लाका सबैजसो स्थानमा लगाएको मकैबाली जंगली जनावरले नष्ट गर्न थालेकोले किसानहरुलाई मकैबाली जोगाउन धौधौ परेको छ ।