१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दार्चुला घटनाको अध्ययन गर्न गएको टोली भारतीय बाटो हुँदै घटनास्थल प्रस्थान


0
Shares

काठमाडौं । दार्चुला घटनाको पारदर्शी रुपले छानबिन गर्न गठित छानबिन समितिको टोली दार्चुलाको गस्कु प्रस्थान गरेको छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदैं स्थलगत अध्ययनका लागि गस्कु गएको हो ।

दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाबारे छानबिन गर्न गौतमको नेतृत्वमा टोली गठन गरेको थियो ।

घटनाबारे छानविन गर्न काठमाडौंबाट मंगलबार दार्चुला पुगेको मन्त्रालयको टोलीले बुधबार पत्रकारसँग घटनाको विषयमा छलफल गरेको थियो ।

छानविनका लागी आवश्यक सूचना तथा प्रमाण संकलन गर्न घटना स्थल जानु पूर्व टोलीले पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक दल र ब्याँस गाउँपालिकाका जनप्रतिनिधिहरुसँग छलफल गरेको हो ।

छलफलमा समितिका संयोजक गौतमले घटनालाई नजिकबाट अनुसन्धान गरी छानविन गरिने बताउनु भएको छ । टोलीले यसअघि बुधबार बिहान घटनाका तीन जना प्रत्यक्षदर्शीलाई घटनाको बारेमा सोधपुछ गरेको छ ।

उक्त घटनाका प्रत्यक्षदर्शी कल्यान सिंह धामी, अनिता धामी र विक्रम सिंह रङकोलीलाई टोलीले घटनाको वास्तविकता बारे सोधपुछ गरेको छ ।

घटनासँग सम्बन्धित प्रमाणहरु संकलन तथा विश्लेषण गरी सत्य तथ्य बाहिर ल्याउने संयोजक गौतमले बताउनुभयो ।

अनुसन्धानको क्षेत्रमा निकै लामो समय काम गरेका सुरक्षाकर्मी छानविन समितिमा रहेको भन्दै उहाँले घटनाको सत्य तथ्य बाहिर आउनेमा विश्वास व्यक्त गर्नुभयो ।

ब्याँस गाउँपालिका–२ का जयसिंह धामीले तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी किटिदा महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।