१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाकाली घटना : छानबिन टोली भारतीय बाटो हुँदै घटनास्थलतर्फ


0
Shares

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन टोली दार्चुलाको गस्कु प्रस्थान गरेको छ ।

सहसचिव जनार्दन गौतम नेतृत्वको टोली बिहीबार स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको हो । स्थानीयवासीले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा जानकारी लिने र धामी बेपत्ता प्रकरणमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्न अध्ययन टोली दार्चुला गएको हो ।

यही साउन १५ गते व्यास गाउँपालिका–२ का मालका धामी सदरमुकाम खलंगा जाने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए । धामीले तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइनको तार फुकालिदिँदा उनी महाकाली नदीमा खसेर बेपत्ता भएको स्थानीय प्रत्यक्षदर्शीले बताउने गरेका छन् ।

भारतीय प्रशासनले एसएसबीले सो क्षेत्रमा गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दावी गरेको छ । छानबिन समितिको प्रतिवेदनअनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने गृहमन्त्री बालकृष्ण खाँणले यसअघि नै बताइसक्नुभएको छ ।

घटनाको सत्य तथ्य छानबिन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको थियो । छानबिन गर्न मंगलबार दार्चुला पुगेको टोलीले हिजो जिल्लास्थित सरोकारवालाहरुसँग छलफल गरेको थियो ।