
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले आफूहरुले पार्टी एकता चाहेको बताउनुभएको छ ।
बिहीबार माधवकुमार नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठकपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै पन्तले पार्टी एकता सबैको आवश्यकता भएको बताउनुभयो ।
‘एकता हामी सबैको आवश्यकता हो,’ उहाँले भन्नुभयो, ‘एकता हाम्रो विजय हो, विभाजन सत्यानाश हो, सर्वनास हो ।’
नेता पन्तले आफूहरु एमालेमै भएको र पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेकाले सरकारमा नजाने बताउनुभयो । सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै पन्तले भन्नुभयो, ‘सरकारमा जाने सम्भावना नै छैन, हामी एउटै पार्टीमा छौं, अपोसिजसनमा छौं ।’
यस्तै नेपाल पक्षले सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न ओली पक्षलाई आग्रह गरेको छ । १० बुँदे सहमति जुटाउने कार्यदलका संयोजक भीम रावलले सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न ओली पक्षको कार्यदलका सदस्यहरुलाई आग्रह गरेको नेता पन्तले बताउनुभयो ।
१० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ ।
प्रतिक्रिया दिनुहोस्