
काठमाडौं । सेप्टेम्बर दोस्रो साताबाट ओमानमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको छ ।
वर्षायाममा मौसम प्रतिकुल भइरहेको अवस्थामा पनि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टोलीलाई अभ्यास गराउन सुरु गरेका हुन् । यसअघि सोही सिरिजका लागि भनेर नेपाल क्रिकेट संघ(क्यान)ले १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । जसमा गुल्सन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।
पूर्व कप्तान पारस खड्काले सन्यास लिएपछि उनको नाम टोलीबाट हटाइएको छ । दुई दिन अगाडि खेलाडीले अभ्यास सुरु गरे पनि बिहीबार मात्र बोलाइएका सबै खेलाडी प्रशिक्षणमा उपस्थित भएका हुन् । राष्ट्रिय क्रिकेट टोलीले बिहानको सत्रमा त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा फिटनेस प्रशिक्षण गरेका थिए भने दिउँसो कीर्तिपुर मैदानमा प्रशिक्षण गरेका छन् ।
युवा ब्याट्सम्यान रोहित कुमार पौडेल लामो समयपछि सिनियर टोलीमा कमब्याक गरेका छन् । लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुई जित निकाल्दा दुई खेलमा नतिजा सुम्पिएको छ । घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलिसकेको छ ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्