भूकम्पपीडित लाभग्राही संख्यामा साढे चार हजार थपिए

news

काठमाडौं, मंसिर १६ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ ।

प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्पप्रभावितलाई लाभग्राही कायम गरेको हो ।

कार्यकारी समितिले ४१० जनालाई सम्भावित लाभग्राही र दुई हजार ६०९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको छ । त्यसैगरी, ३५ हजार ७९ जना गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ ।

प्राधिकरणले बाँकी गुनासोहरुको शीघ्र विश्लेषण गरी नजिता निकाल्ने जनाएको छ ।

छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत् दर्ता भएका बाँकी गुनासोहरुको प्राधिकरण केन्द्रीय कार्यालयमा खटिएका चार दर्जन इन्जिनियरहरुले विश्लेषण गरिरहेको जनाइएको छ ।

लाभग्राही कायम भएका भूकम्पप्रभावित घरधुरीले सम्बन्धित वडामार्फत् अनुदान सम्झौता गरी पहिलो किस्ताबापट ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तीन एकीकृत बस्ती प्रारम्भिक योजना स्वीकृत

बैठकले रसुवाको एउटा र मकवानपुरका दुईओटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको जनाएको छ ।

प्राधिकरणले हिमाली जिल्लामा बन्ने एकीकृत बस्तीका लागि प्रतिघर पाँच लाख, पहाडी जिल्लामा बन्ने बस्तीका लागि प्रतिघर चार लाख र तराईका जिल्लामा बन्ने बस्तीका लागि प्रतिघर तीन लाख रुपैयाँका दरले एकमुष्ट रकम उपलब्ध गराउँछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...