१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विदेश जानेका लागि लाइनै–लाइन : भन्छन्– ‘गरिब भएर जन्मनु अभिसाप हो’

बिहान २ बजेदेखि लाइन बस्दा साँझ पाँच बजेसम्म आएन पालो

0
Shares

गृष्मा राजभण्डारी
काठमाडौं । सोर्स नहुनेका लागि जताततै लाइन छ । थाहै नपाइ आफ्ना मान्छे घुसाइँदा त्यो लाइन कहिल्यै सर्दैन । विदेश जाने युवाले पासपोर्ट बनाउन, खोप लाउनदेखि जहाजको ढोकासम्म लाइन बस्नुपर्छ ।

हुँदा–हुँदा विदेशबाट बाकसमा आउने आफन्तको शव बुझ्नसमेत लाइन लाग्नुपर्ने अवस्था छ । विदेश जानेक्रममा कागजात बनाउन आधारातदेखि लाइन लागेका युवाहरू झरीबादल, भोक, निद्रा मारेर आफ्नै देशमा असहाय हुनुको पीडा भोगिरहेका छन् ।

कवि सुदेश सत्यालको कविता ‘फर्केर आउ घर’मा भनेझैँ सरल बाटोमा समय हिँड्थ्यो भने पराईको माटोमा रगत पसिना बगाउने रहर वैदेशिक रोजगारीमा जाने हजारौँ युवालाई हुँदैनथ्यो । कोरोनाले विश्वलाई आतंकित बनाएको बेला परिवारको चुल्हो बाल्न घरदेश छोडेर परदेशका लागि पाइला अघि बढाउन उनीहरु बाध्य छन् ।

परदेश कस्तो होला ? त्यो त कल्पना मात्र भयो । आफ्नै माटोमा पाइला–पाइलामा भोग्नुपरेको पीडा उनीहरूका लागि कम्ति पीडादायी छैन । पासपोर्ट, पुलिस रिपोर्ट, टिकट, खोप जता गयो, लाइनमै दिन बित्छ । एउटा काम फत्ते गर्न तीन दिन लाइन बस्नुपर्छ ।

मान्छे घण्टौ लाइन बस्छन् । तर, लाइन नै सर्दैन । लाइनभित्र बेलाइनबाट आउनेहरूको दबदबा छ । कम्तिमा आठ घण्टा लाइनमा बसेको बताउने उनीहरू काम कतिबेला सकिएला भन्न सक्ने अवस्थामा छैनन् । परराष्ट्र मन्त्रालयको राहदानी विभागमा हरेक दिन हरेक पल यस्ता दृश्य देख्न सकिन्छ । उनीहरू लाइनका लागि लाइन नबनाएर यसलाई व्यवस्थित बनाउन सरकारलाई सुझाव दिन्छन् ।

पहिलो पटक परदेशिन लागेका युवाहरुमा अत्यास र आश दुवै छ । विदेशमा पनि यस्तै होला कि भन्ने भयले उनीहरूलाई तर्साउँदो रहेछ । जे भए पनि स्वदेशको रहरभन्दा विदेशकै कहर उनीहरूका लागि पहिलो र अन्तिम रोजाई भएको छ । नेपाल बसेर रोजगारी नपाएको र विदेश गएर दुई पैसा कमाएर बच्चाको भविष्य उज्वल बनाउने आशमा उनीहरू विदेशीन बाध्य छन् ।

पासपोर्टबाट अब लागौं, खोपको लाइनतर्फ । खोप लगाएको प्रामाणिक कागजात नभएकालाई विदेशको अनुमति छैन । पासपोर्ट बोकेर खोपका लागि लाइन लागेका युवाहरूले भोगेको पीडा अझ कहालीलाग्दो छ । कामका लागि साउदी जान लागेका उदयपुरका एक युवाको बिहान २ बजेदेखि खोपका लागि लाइन बस्दा पनि पालो नआएपछि धैर्य टुटेको छ । गरिब भएर जन्मनु नै अभिसाप भएको भन्दै गर्दा उनको स्वर मसिनो भयो ।

एकातिर रेमिट्यान्सबाट मुलुक चलेको भनेर जुँगामा ताउ लगाउने, अर्कातिर हड्डी घोटेर रेमिट्यान्स पठाउने युवाहरूलाई लाइनका नाममा यस्तो व्यभिचार थोपर्नु कहाँको न्याय हो ?