
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हिउँदमा ६० प्रतिशतसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।
ईमेज टेलिभिजनसँगको कुराकानीमा कार्यकारी निर्देशक शाक्यले गतवर्ष हिउँदमा उत्पादन ह्वात्तै घटेका कारणले ६० प्रतिशतसम्म विद्युत् भारतबाट आयात गरेर बेच्नुपर्ने अवस्था आएको बताउनुभयो । सुख्खायाममा पानीको फ्लो कम हुँदा विद्युत् उत्पादन कम भएको उहाँको भनाइ छ ।
कोरोनाका कारणले विद्युत् चुहावट बढेको बताउँदै शाक्यले नियन्त्रणका लागि कर्मचारी खटाउन समस्या भएको जिकिर गर्नुभयो । ‘कोभिडका कारण घर–घरमा कर्मचारी जानसक्ने अवस्था रहेन,’ उहाँले भन्नुभयो, ‘कर्मचारीहरूलाई पनि भनिएको स्थानमा खटाउन समस्या भएका कारण चुहावट घटाउन नसकिएको हो ।’
उत्पादनमा वृद्धि हुनुमा निजी क्षेत्रलाई धन्यवाद दिँदै शाक्यले आफूले विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि काम गरिरहेको बताउनुभयो । ‘निजी क्षेत्रका विभिन्न कम्पनीले विद्युत् उत्पादन गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘उनीहरुले उत्पादन गरेको विद्युत् जनताको घरसम्म पुर्याउने काम हाम्रो हो, हामी हाम्रो कामम प्रतिबद्ध छौँ ।’
शाक्यले देशभर विद्युत्को माग बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘साँझको समय आधा वा एक घण्टाका लागि विद्युत्को माग १५ सय ५० मेगावाटसम्म हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यो समयमा हामीले भारतबाट विद्युत् आयात गर्नुपर्ने हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्