
हेटौंडा । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै मकवानपुरमा पुनः एक साता निषेधाज्ञा थपिएको छ ।
शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
निषेधाज्ञा थप भएसँगै बजार खुल्ने समय पनि परिवर्तन गरिएको छ । अब बिहान १० बजेसम्म खाद्यान्न सम्बन्धी व्यवसाय सञ्चालन हुने र अन्य व्यवसाय दिउँसो १२ बजेदेखि ४ बजे सम्म सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।
यसअघि प्रशासनले व्यवसाय ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको थियो । अन्य निर्णय भने पुरानै यथावत रहेको प्रजिअ पाण्डेले बताउनुभयो ।
यस्तै, साउन २५ गते सोमबारबाट यातायातका सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिने प्रजिअ पाण्डेको भनाइ छ । उहाँले बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने सबैखाले सवारी साधनमा जोरविजोर प्रणाली लागू हुने जानकारी दिनुभयो ।
यसअघि यातायातमा जोरविजोर प्रणाली हटाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्