
काठमाडौं । काठमाडौंका स्थानीयले वडाका ३ स्थानमा खोप केन्द्रको व्यवस्था गर्न माग गरेका छन् ।
शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका स्थानीयहरूले खोप लगाउन धेरैको बाँकी रहेको उल्लेख गर्दै हरेक वडाको ३ स्थानमा खोप केन्द्रको व्यवस्था गर्न माग गरेका हुन् ।
शुक्रबारबाट सुरु भएको खोप अभियान काठमाडाैं महानगरपालिका ३२ वटै वडाको १/१ स्थानबाट दिने व्यवस्था गरिएको छ । तर, दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाएकाहरू धेरै भएकाले वडामा तीनवटा खोप केन्द्र तोकेर खोप लगाउन पाउने व्यवस्था मिलाउन स्थानीय ताराबहादुर खड्काले माग गर्नुभयो ।
यता, स्थानीय तहले भने आम नागरिकलाई सहज ढंगले खोप दिने व्यवस्था गरिएको दावी गरेको छ । कामनपा–१० का वडाध्यक्ष रामकुमार केसीले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि आफूहरूले राम्रो व्यवस्था गरेको दावी गर्नुभयो ।
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिलाहरूका लागि लाइन नबसी खोप लगाउने व्यवस्था गरिएको वडाध्यक्ष केसीको जिकिर छ । काठमाडौं महानगरपालिकाले आइतबारसम्म भेरोसेल खोप लगाउने व्यवस्था गरेको छ । तोकिएका सबै खोप केन्द्रहरूमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउने व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्